१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दाङमा गठबन्धनको ‘क्लिन स्विप’



दाङ ।

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा सबै क्षेत्र गठबन्धन दलहरूले जितेका छन्। यहाँ नेकपा एमालेले एक सिट पनि जित्न सकेन।

नेपाली कांग्रेसले एक प्रतिनिधिसभा सदस्यसहित चार प्रदेशसभा सदस्यमा जित हासिल गर्‍यो भने नेकपा माओवादी केन्द्रले एक प्रतिनिधिसभा सदस्यसहित दुई प्रदेशसभा सदस्य जित्यो। त्यस्तै नेकपा एकीकृत समाजवादीले एक प्रतिनिधिसभा सदस्य जितेको छ।

यहाँ नेकपा एमालेका उम्मेदवार सबै ठाउँमा पराजित भए। एमाले महासचिव शंकर पोखरेलसमेत पराजित भएका छन्।

दाङ १ मा मेटमणि चौधरी निर्वाचित

दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवार चौधरी आफ्ना प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीलाई पाँच हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका हुन्।

पछिल्लो मत परिणामअनुसार मेटमणि चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीले २१ हजार ४ सय ७९ मत पाएकी छन्।

दाङ १ (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारू विजयी भए।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेका थारूले १३ हजार ५ सय ५ मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरे।

त्यस्तै दाङ १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए। अनुराग स्वर्गीय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन्। उनी लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबभन्दा कान्छा सदस्य हुन्।

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मा विजयी

दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएकी हुन्।

रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८१ मत पाएका थिए। उनीहरूबीच १९६ मतको अन्तर थियो।

त्यस्तै दाङ २ ९क० मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्।

कांग्रेस लुम्बिनी प्रदेशका उपसभापतिसमेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरे। उनीहरूबीच १ हजार १ सय ६७ मतको अन्तर थियो।

प्रदेशसभा २ ९ख० मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्डविक्रम न्यौपाने ९गुन्टु० निर्वाचित भएका छन्। युवा नेता न्यौपाने ७२४ मतान्तरले विजयी भएका हुन्।

न्यौपानेले १७ हजार ४ सय २३ र उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६ हजार ६ सय ९९ मत प्राप्त गरेका थिए।

दाङ ३ मा कांग्रेसका दीपक गिरी विजयी

दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन्। उनी ७ हजार ८ सय १० मतान्तरले विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८ सय ८२ मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन्।

त्यस्तै प्रदेशसभा ३ ९क० मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत प्राप्त गरे। चौधरीले पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पराजित गरेका हुन्।

प्रदेशसभातर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन्।

मास्कीले २२ हजार ३२१ मत प्राप्त गर्दा उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १५८ मत प्राप्त गरेका थिए। मास्कीले बस्नेतलाई २ हजार १ सय ६३ मतान्तरले पराजित गरेका हुन्।

जिल्लामा राजनीति दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा थिए।

दाङमा कुल ४ लाख १४ हजार ९ सय ५६ जना मतदाता रहेकामा २ लाख ४८ हजार ६ सय ६२ मत खसेको थियो। यसबाहेक तुलसीपुर कारागारका १ सय ३६ र घोराही कारागारका १ सय ११ जनाले मतदान गरेका थिए।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ६ : १३ बजे