१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024

एमालेमय बन्दै अर्घाखाँची, कमजोर बन्दै कांग्रेस



अर्घाखाँची ।
कुनै बेला कांग्रेसको प्रभाव क्षेत्र मानिने अर्घाखाँची अहिले एमालेमय बनेको छ । हरेक चुनावमा ‘मुड’ बदल्ने मतदाताले निर्वाचनपिच्छे फरक दलका उम्मेदवार रोज्दै आएका छन् । 

विगतका चुनावको नतिजा हेर्दा यहाँ कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका नेता आलोपालोजस्तै सांसद भएका छन् । २०१५ सालको आमनिर्वाचनमा अर्घाखाँचीबाट कांग्रेसका सुवर्णशमशेर राणा र काशीनाथ गौतम निर्वाचित भए । राणा भोट माग्न अर्घाखाँची झरेनन् । काठमाडौं बसेरै उनले भारी मतले चुनाव जिते । उनी २१औं प्रधानमन्त्री भए भने गौतम स्वास्थ्य मन्त्री बने । बहुदलपछि २०४८ र २०५१ को चुनावमा पनि कांग्रेस उम्मेदवार निर्वाचित भए । तत्कालीन क्षेत्र १ बाट निर्वाचित रेवतीप्रसाद भुसाल राज्यमन्त्री र २ बाट विजयी ढुण्डीराज शास्त्री मन्त्री भए ।

कांग्रेसको प्रभाव बढ्दै गएपछि २०५६ को चुनावमा एमाले र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरे । त्यसपछि भने कांग्रेसले आफ्नो जितलाई कायम राख्न सकेन । क्षेत्र नं.१ बाट जनमोर्चाका डिलाराम आचार्य र २ बाट एमालेका डिल्लीराज खनाल निर्वाचित भए । आचार्य अहिले माओवादी केन्द्रको सचिव छन् । २०५६ मा खनालसँग पराजित भएकी काशीनाथकी छोरी पुष्पा भुसालले २०६४ को निर्वाचनमा सोही क्षेत्रबाट उनैलाई पराजित गरिन् । २०७० को चुनावमा एमालेका दुमनसिंह थापा निर्वाचित भए । पुष्पा पराजित भइन् । २०७४ को चुनावमा संघीय संरचना अनुसार अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र कायम गरियो । त्यस बेला एमाले, माओवादी र राजमोको वामगठबन्धन बन्यो । २०७४ र २०७९ का दुवै चुनावमा कांग्रेस उम्मेदवार पराजित भए ।

एमाले सचिव टोपबहादुर रायमाझीले लगातार चारपटक चुनावमा बाजी मारे । उनले २०६४ मा कांग्रेसका मानबहादुर विश्वकर्मा, २०७० र २०७४ कांग्रेसका डा। रामबहादुर बीसी र गत प्रतिनिधिसभा निर्वाचनमा पुष्पालाई पराजित गरे । बीसी २०५६ मा पनि राजमोका आचार्यसँग पराजित भएका थिए । मंसिर ४ मा सम्पन्न चुनावमा सत्तापक्षीयको पाँच दलीय गठबन्धन बनेको थियो । स्थानीय तहको नतिजा अनुसार गठबन्धन एमालेभन्दा ५ हजार मतले अगाडि थियो । २०७४ को चुनावमा समानुपातिक सांसद बनेर संघीय संसद्को उपसभामुख बन्ने अवसर पाएकी कांग्रेस नेतृ पुष्पाले गठबन्धनको बलमा पनि रायमाझीलाई पराजित गर्न सकिनन् ।

यसपालि प्रतिनिधिसभामा रायमाझी, प्रदेशसभा १ बाट चेतनारायण आचार्य र २ बाट रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् । अघिल्लो चुनावमा पनि वाम तालमेलबाट यी तीनै जना निर्वाचित भएका थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा ६ स्थानीय तहका १२ पदमध्ये मालारानी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र पाणिनि गाउँपालिका उपाध्यक्ष पद मात्रै एमाले जितेको थियो । यसपालिको स्थानीय चुनावमा एमालेले एक्लै ८ पदमा जित हात पारेको थियो ।

मंसिर ४ को चुनावमा बिना संगठन घण्टी चिह्नमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३ हजार २ सय र समानुपातिकमा ८ हजार ९ सय ५१ मत खसेको छ । ‘जसले परिवतर्नका मुद्दा अगाडि सार्छ, त्यसैलाई मतदाताले रोज्न थाले,’ उप–प्राध्यापक मञ्जु घिमिरेले भनिन्, ‘राजनीतिक परिवर्तनले मात्रै पुगेन, मतदाताले सामाजिक र आर्थिक परिवर्तन पनि खोजेको भान भयो । जसले विकास र परिवर्तनको सपना देखाएको हुन्छ, त्यसैले चुनाव जित्छ ।’ सामाजिक र आर्थिक परिवर्तन, जनताका आधारभूत आवश्यकताका मुद्दालाई हेरेर नै यसपटक पनि मतदाताले ‘मुड’ बदलेको उप–प्राध्यापक घिमिरेको तर्क छ । ‘आउँदो चुनावमा सामाजिक र आर्थिक मुद्धा बोक्ने दरिलो पार्टी र उम्मेदवार आएमा मजबुत संगठन भएका एमाले, कांग्रेस पनि पछि पर्न सक्छन्,’ उनले भनिन्, ‘युवालाई गाउँमै रोजगारी, गरिबीबाट मुक्त, गाउँमा पुगेका कच्ची बाटा कालोपत्र, गुणस्तरीय शिक्षासहित विकासका पूर्वाधारका काम छिटोछरितो र सुशासन पहिलो प्राथमिकता हुन् ।’

गाउँको विकासका सवालमा मतदाताले यो पार्टी ऊ पार्टी भनेर मत नदिने स्थानीय विमला खत्रीले सुनाइन् । ‘सुशासन र विकास गर्न नसक्ने, चुनाव जितेपछि गाउँमा नफर्किनेलाई पार्टीमै बसेर वा दल नै बदलेर पनि भोट हाल्छन्,’ उनले भनिन्, ‘अब परिवर्तन चाहिएको छ । जुन नेता बढी घुलमिल हुन्छन्, तिनैलाई स्वाभाविक रूपमा मत धेरै जान्छ । भिजन नभएको नेताले पनि अब भोट पाउँदैन ।’

अर्घाखाँचीका मतदाताको मुड बदलिरहने गरेको स्थानीय भविश्वर खनालले सुनाए । ‘अहिले राजनीतिमा जेल परेको, पार्टीमा योगदान गरेको इतिहासलाई हेर्ने चलन हरायो । जसले परिवर्तनको मुद्दा अघि सार्न सक्छ, त्यसैले चुनाव जित्छ,’ उनले भने, ‘मतदाता उनै हुन् । तर, मतदान फरक–फरक पार्टीलाई गर्छन् । तिनै मतदाता आलोपालो गर्दै कहिले कांग्रेस, कहिले माओवादी त कहिले राजमो र एमालेका उम्मेदवारलाई निर्वाचित गराइरहेका छन् ।’ इकान्तिपुरबाट

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  १२ : ११ बजे