१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

लुम्बिनी प्रदेश सभामा १० दलले प्रतिनिधित्व गर्ने



बुटवल ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको संख्या दोब्बरले वृद्धि भएको छ ।

यसअघि २०७४ सालको निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक गरी पाँच वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेकोमा यसपटक भने दोब्बरले वृद्धि भई १० वटा दलको प्रतिनिधित्व हुने भएको छ ।

प्रत्यक्ष निर्वाचनबाट ५२ जना र समानुपातिकबाट ३५ गरी ८७ सदस्यीय रहने प्रदेश सभामा २०७४ सालमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व रहेको थियो । यद्यपि एमाले विभाजनपछि भने पाल्पाबाट समानुपातिक सांसद बनेकी रमा घर्तीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् ।

यस पटकको निर्वाचनबाट भने यसअघि प्रतिनिधित्व गरेका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व थपिएको छ ।

निर्वाचन आयोगका अनुसार आठ वटा दल प्रत्यक्ष निर्वाचनमा समेत सिट जिते पनि राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले भने समानुपातिकबाट मात्रै प्रतिनिधित्व गर्ने मौका पाएका हुन् ।

प्रत्यक्षतर्फ नेकपा एमालेले १८, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ५ तथा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई दुई स्थान जितेका थिए ।

त्यस्तै, जनमत पार्टीले १ स्थानमा र ३ जना स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

३५ जना समानुपातिक सांसदको सिट बाँडफाँटका आधारमा नेकपा एमालेले ११ सिट पाएको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले २र२ तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादीले १/१ सिट पाएका छन् ।

समानुपातिकबाट सिट पाएका सबै दलहरूले सांसदहरूको सूची समेत निर्वाचन आयोगमा पठाइसकेका छन् ।

नेकपा एमालेले खस आर्यबाट गिरिधारीलाल न्यौपाने, जानकी न्यौपाने र बसन्ती न्यौपानेलाई सिफारिस गरेको छ ।

जनजातिबाट सरिता पुन र यमुना रोका, थारुबाट सीता शर्मा चौधरी, भगवती कुमारी थरुनी, दलितबाट इन्द्रकुमारी गहतराज र रेखाकुमारी शर्मालाई सिफारिस गरेको छ ।

त्यस्तै, मधेशी कोटाबाट शान्ती लोधलाई तथा मुस्लिम कोटाबाट सायरा बानोलाई सिफारिस गरेको छ ।

नेपाली कांग्रेसले खसआर्यबाट जमूना ढकाल, निमा गिरी र मालती सोडारीलाई सिफारिस गरेको छ भने जनजातिबाट धनलक्ष्मी श्रेष्ठ, माया पुन, थारुबाट देवीप्रसाद चौधरी, मञ्जुकुमारी चौधरीलाई सिफारिस गरेको छ ।

यसैगरी दलितबाट लोकीकुमारी वि.क., मधेसीबाट सुगौली बादी र मुस्लिमबाट मिनाकुमारी सिद्दिकीलाई प्रदेश सांसद सिफारिस गरेको छ ।

चार जना मात्रै समानुपातिक सिट पाएको माओवादी केन्द्रले भक्ति प्रसाद आचार्य, दिलकुमारी बुढा, यमबहादुर नेपाली सार्की र कृष्णा कुस्मा थारुलाई सिफारिस गरेको छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले निर्मलादेवी थारु र नोरीकुमारी चौधरीलाई सिफारिस गरेको छ ।

जनमत पार्टीले सुमन शर्मा रायमाझी र गीता गुरुङलाई सिफारिस गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेनुका खाण र मिना कुमारी श्रेष्ठ सिफारिस भएका छन् ।

एकएक जना सांसद सिट पाएको जनमोर्चाले तारा थापालाई सिफारिस गरेको छ भने लोसपाले हेमा बेल्बासे केसीलाई सांसदका लागि सिफारिस गरेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीले अम्बिका काफ्लेलाई र एकीकृत समाजवादीले भगवती अधिकारी घिमिरेलाई प्रदेश सांसदका लागि सिफारिस गरेको छ ।

राजनीतिक दलहरूले निर्वाचन आयोगमा सांसदहरूको नाम सिफारिस गरी पठाए पनि निर्वाचन आयोगले दलहरूलाई सूची नमिलेको भए सच्याउन सोमबारसम्मको समय दिएको छ ।

प्रत्यक्ष र समानुपातिक गरी २९ सिटसहित यसपटक पनि नेकपा एमाले नै सबभन्दा ठूलो दल बनेको छ ।

त्यस्तै नेपाली कांग्रेस २७, माओवादी केन्द्रबाट ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना सांसद रहेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका ३/३ जना सांसद रहेका छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एकएक मात्रै सांसद रहेका छन् ।

लुम्बिनी प्रदेश सभामा यसपटक स्वतन्त्र रूपमा उम्मेदवारी दिएका तीन जना सांसद बनेका छन् ।

यसअघि २०७४ सालमा प्रत्यक्ष र समानुपातिक गरी नेकपा एमालेबाट ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एकजना सांसद रहेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९ सोमबार ००:००  ६ : १५ बजे