१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द रहने



पाल्पा ।
पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द रहने भएको छ। सडक चौडा गर्ने काममा निर्माण व्यवसायीलाई दैनिक काममा सहज होस भनेर सडक दैनिक १० घण्टा बन्द रहने सडक डिभिजन पाल्पाले जनाएको छ।

सडक डिभिजनले सूचना प्रकाशन गरेर बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुकी ७ बजेदेखि १० बजेसम्म सडक बन्द गरेर काम थालिने जनाएको हो। तानसेन–रिडी सडक खण्डको रिब्दिकोट गाउँपालिका–३, खस्यौलीको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्ने काम भइरहेको छ।

पुस ७ गतेसम्म दैनिक सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिए। एम्बुलेन्स, शववाहनलगायत अति आवश्यक सवारीसाधनलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइने बताइएको छ।

तानसेन-रिडी सडक खण्डको सिरुखर्कदेखि माल्मुल क्षेत्रमा झन्डै दुई किलोमिटर सडक साँघुरो र अप्ठ्यारो रहेको छ। यही सडक खण्डको लघुवा, जोर्ते क्षेत्रमा यसअघि पनि सडक चौडा गर्नका लागि पटकपटक सवारी साधन रोकेरै काम गरेको थियो। तर कामले पूर्णता नपाउँदा निर्माण व्यवसायीको सुविधाका लागि पुनः सवारी साधन रोकेर काम गर्नु परेको जनाएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७९ सोमबार ००:००  ९ : १५ बजे