१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशभर चिसो बढ्यो



काठमाडौँ ।
देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ४।५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो ।

आइतबार ६ डिग्रीमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज अझ ओरालो लागेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। २४ घण्टामा झन्डै १ डिग्री तापक्रम घटेको हो। जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९ सोमबार ००:००  १२ : ०० बजे