८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

‘विदेशबाट फर्किएर तरकारी खेतीमा जमेका पर्शुराम’



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा १० का पर्शुराम चौधरीको कोभिड-१९ को महामारीमा जागीर गुम्यो । जागीर गुमेसंगै चौधरीलाई घरखर्चो धान्न धौ धौ पर्‍यो । १० जनाको ठूलो परिवार रहेको चौधरीले स्वरोजगारको अवसर खोज्दै हुनुहुन्थ्यो ।

त्यहीँ बीचमा दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण परियोजना (सिड्स) चौधरीको सपना साकार पार्ने परियोजना बन्यो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रबाट स्ट्रोम फाउण्डेसनको सहयोगमा पटनामा सन्चालित सिड्स परियोजनाले कोभिड-१९ मा रोजगारी गुमाएका घरपरिवारलाई स्वरोजगार बनाउने काम थालेको छ । त्यसैको प्रत्यक्ष सम्पर्कमा रहनुभएका चौधरीले सिड्सबाट ४० हजार प्राप्त गरेसंगै व्यवसायिक तरकारी खेतीमा हात हाल्नुभयो ।

१६ कठ्ठा जग्गा भाडामा लिएर उहाँले तरकारी खेती थाल्नुभएको हो । तरकारी खेतीबाट उहाँको घरखर्चो राम्रोसंग चलेको छ भने बार्षिक रुपमा कमाइ पनि गर्दै आउनुभएको छ ।

खाडी मुलुक कतार रोजगारीका लागि पुग्नुभएका चौधरीले मौसमी तथा बेमौसमी तरकारी लगाउनुहुन्छ । तरकारी खेतीका लागि चाहिने प्राविधिक ज्ञान उहाँसंग छ ।

चौधरीले तरकारी खेती र अन्य बालीबाट खर्च कटाएर बार्षिक १ लाख ७५ बजार बढी आम्दानी गर्नुुहुन्छ । तरकारीका अलवा उहाँले बर्खामा धान खेती गर्नुहुन्छ । हिउँदमा तोरी खेतीबाट पनि उत्तिकै फाइदा गर्दै आउनुभएको छ । आफ्नो घरमा रहेको केही जग्गामा पनि उहाँले तरकारी खेती गर्दै आउनुभएको छ ।

‘व्यवसायी जीवनबाट मात्र परिवारको समृद्धि सम्भव छ भन्ने ठानेर तरकारी खेतीमा हाल हालेको हुँ,’ उहाँ भन्नुहुन्छ ।

ठूलो लगानी लगाएर व्यवसाय थाल्न पुजिको अभाव हुने गरेपनि सानो सानो लगानीबाट घरपरिवार सन्चालन गर्न, छोराछोरी पाल्न गाह्रो नहुने उहाँको भनाई छ ।

देशमा स्वरोजगारका अनेक सम्भावना रहेको भन्दै सरकारी तथा गैरसरकारी तवरबाट काम गर्न चाहनेलाई सहयोग हुनुपर्नेमा उहाँको जोड छ ।

चौधरीले लगाएरका तरकारी किन्न व्यापारी खेतबारीसम्म पुग्ने गर्छन् । नजिकै लाग्ने हाटबजार पनि उहाँको तरकारी बेच्ने बजार हो ।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  २ : ५५ बजे