१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन माधव नेपालको प्रस्ताव



काठमाडौं

नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आइतबार पनि बस्ने भएको छ।

शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आज पनि बैठक चल्ने भएको हो।

शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए।

बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ। गत मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सकेको थिए। एकीकृत समाजवादीका केही नेताहरू अब नेकपा एमालेमै फर्किनुपर्ने बताउँदै एमालेका नेताहरूसँग संवादमा समेत रहने गरेका छन्।

बैठकको सुरूमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे जानकारी गराएका थिए।

पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरुलाई उनले निर्देशन दिए।

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरेका थिए।

सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए।

पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उनको भनाइ थियो। महासचिव बेदुराम भुसालले सङ्गठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरेका थिए।

पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ।

केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्यता सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धी हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन्।

प्रकाशित मिति : १७ पुस २०७९ आइतबार ००:००  ८ : १० बजे