११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

स्थानीय स्तरको स्वास्थ्य र शिक्षा प्रति विश्वास बढाऔं : सांसद पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले स्थानीय बजारलाई पहिलो प्राथमिकता दिन सबैलाई आग्रह गर्नुभएको छ ।

युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वाणगंगा ४ सिद्धिपुरको प्रथम वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी पन्थीले स्थानीय बजार, बस्तु र सेवालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय स्तरमा राम्रो र गुणस्तरीय सेवा दिइरहेका संस्थाहरुलाई विश्वास गर्नुपर्नेमा जोड दिनुभयो । अझैपनि आधारभूत आवश्यकताका विषयमा हामी बाहिर कुदिरहेका हुन्छौं, पन्थीले भन्नुभयो जवकि ती सेवाहरु हामी आफनै ठाँउमा पाइरहेका छौं । उहाँले स्थानीय स्तरमा पाइरहेका स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवा प्रति विश्वासको वातावारण बनाउदै सवैले राम्रो बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

हाम्रो पैसा हाम्रै ठाउँमा नलगाए यहाँको विकास नहुने भन्दै सांसद पन्थीले स्थानीय बजारको आवश्यकतालाई प्रवर्धन गर्नेगरी सवै निकाय आ आफनो ठाउँमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो । मुलुक बनाउने दायित्व सवै नागरिकको भएकाले सहकारीमा आवद्ध शेयर धनीले पनि त्यसको महत्वपूर्ण हिस्सा ओगट्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सहकारीहरुले उत्पादनको क्षेत्रमा लगानी गरी पूँजी निर्माण गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुणनीधि भुसालले सहकारीहरुले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुराइरहेकाले धेरै अवसरहरु सिर्जना गर्ने भएकाले यसको विशिष्टीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा युनाईटेड बहुउद्देश्यीय सहकारी संस्थाका विज्ञ समूहका संयोजक सरोज खनालले संस्थाको अवधारणा सहितको भावी योजना पेश गर्नुभएको थियो ।

सहकारीको ७ सय ५ शेयर सदस्य र ३ करोड ५० लाख बराबरको शेयर पूँजी रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीको बार्षिक प्रतिवेदन सचिव श्यामलाल खनाल तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमकान्त भट्राइले प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक यादव शर्माले गर्नुभयो । सहकारीका अध्यक्ष मुनाराम चालिसेले बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष माधव तिमिलसिनाले स्वागत गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश कार्यक्षेत्र रहेको उक्त सहकारीको प्रथम साधारण सभाले विभिन्न ६ वटा कार्यविधीहरु पारित गरेको छ । जसमा बचत तथा ऋण व्यवस्थापन कार्यविधी, निर्वाचन कार्यविधी, सदस्यता कार्यविधी, मानव संशाधन व्यवस्थापन कार्यविधी रहेको संस्थाका व्यवस्थापक सुन्दर आचार्यले जानकारी दिनुभयो ।

उक्त सहकारीले वाणगंगा ४ ठाकुरापुरमा ५० शैयाको युनाईटेड नेशनल अस्पताल संचालन गर्दै आइरहेको छ भने निकट समयमै टेक्निकल कलेज संचालन गर्ने योजना रहेको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ पुस २०७९ आइतबार ००:००  ८ : ५४ बजे