१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बैङ्कले बढाएको व्याजदर विरुद्ध कपिलवस्तुका व्यवसायी आन्दोलित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका उद्योगी व्यवसायीले बैङ्कहरुले मनोमानी रुपमा बढाएको ब्याजदर तिर्न नसक्ने चेतावनी दिएका छन् । बैङ्क तथा वित्तिय संस्थाबाट भएको चर्को ब्याजदर वृद्धि तथा राष्ट्र बैङ्कद्धारा जारी चालु पुँजि कर्जा निर्देशिका २०७९ का विरुद्धमा वाणगंगामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन कार्यक्रम गर्दै व्यवसायीले त्यस्तो चेतावनी दिएका हुन् ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा चार नम्बरमा आइतबार भएको विरोध प्रदर्शन र हस्ताक्षर संकलन कार्यक्रममा सहभागी व्यवसायीका नेता र पीडित ब्यापारीहरुले तुरुन्त यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल लगायतले आफूहरु ब्याज तिर्न तयार रहेको तर ब्यवसायीले जति प्रतिशत ब्याज कबोलमा रकम दिएका थिए त्यति मात्र तिर्ने बताए ।

कोरोनापछि ब्यवसाय उठ्न लागेको बेला बैङ्कले डबल ब्याजदर बढाएर ब्यवसायीलाई आतंकित गराउने गरेको, दिनदिनै फोन गर्दै धम्क्याउने गरेको लगायतका हर्कत तत्काल बन्द हुनुपर्ने उनीहरको माग छ ।

यस विषयमा सम्बन्धित पक्ष मौन रहे अझै कडा खालको आन्दोलनमा उत्रने ब्यवसायीले चेतावनी दिए ।

देशभरका ब्यवसायी अहिले रहरले, तिर्न नसकेर नभएर बैङ्कहरु विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाई छ । कार्यक्रममा इट्टा ब्यवसायी संघ लुम्बिनी प्रदेशका महासचिव रुक बहादुर भुसाल, नागरिक समाजका अध्यक्ष दोलख पछाई, ब्यवसायी मधु अर्याल, निवर्तमान अध्यक्ष उमानाथ पौडेल, प्रदेश सल्लाहाकार लगायतले मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा सहभागी ब्यवसायीले बिभिन्न नारा लेदिएका प्ले कार्ड बोकी चार नम्बर परिक्रमा गरेका थिए । मुलुकमा सहज स्थिति हुुँदा बैङ्कले आफूहरुलाई माग रकमभन्दा बढी क्रण लिन कर गरेको र अहिले समस्यामा पर्दा भने भने सौतेनी ब्यवहार गरेकोमा व्यवसायीको दुखेसो छ । यो पहिलो चरणको कार्यक्रम भएको र बैंकले अटेरी गरे अरु थप कार्यक्रम गर्ने अध्यक्ष घिमिरेले बताए ।

प्रकाशित मिति : १७ पुस २०७९ आइतबार ००:००  ४ : ५७ बजे