१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गएको एक वर्षमा ६ लाखभन्दा धेरै पर्यटक नेपाल आए



काठमाण्डौ ।

गएको एक वर्षमा नेपालमा छ लाखभन्दा धेरै विदेशी पर्यटक आएका छन् । सन् २०२२ मा हवाई माध्ययमबाट छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

यो सङ्ख्या कोरोना महामारी सुरु हुनुभन्दा अघि अर्थात् सन् २०१९ को तुलनामा ४८ दशमलव ७० प्रतिशतले कमी हो । यसअघि विश्व पर्यटन सङ्गठनले नेपालको पर्यटन व्यवसाय सन् २०१९ को तुलनामा सन् २०२२ मा ६५ दशमलव १२ प्रतिशतले पुनरुत्थान हुने आँकलन गरेको भए पनि ५१ दशमलव २९ प्रतिशतले मात्रै पुनरुत्थान भएको हो ।

यस्तै कोरोना महामारी सुरु भएपछिको वर्ष सन् २०२१ को जुनको तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीका कारण तहसनहस भएको नेपालको पर्यटन व्यवसाय ६५ प्रतिशतभन्दा धेरैले पुनरुत्थान भइसकेको निर्देशक लामिछानेले बताउनुभयो । संसारका अरू पर्यटकीय देशको तुलनामा नेपालको पर्यटन पुनरुत्थान चाँडो भएको उहाँले बताउनुभयो ।

सन् २०२२ मा रुस–युक्रेन युद्धको प्रभावका बीच पनि पर्यटक आगमन राम्रो रहेकोले अर्को वर्ष सन् २०१९ कै तुलनामा पुग्ने विश्वास रहेको बोर्डका निर्देशक लामिछानेले बताउनुभयो ।

यसैबीच इस्वी संवतको नयाँ वर्षका अवसरमा देशभरका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि पर्यटकले खचाखच भएका पर्यटकीय क्षेत्रमा हिजो र आज बाक्लो उपस्थिति रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ६ : ०४ बजे