१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमै उदाहरणीय काम गर्दै बुद्धभूमि, योजना सम्झौता गर्न कर्मचारी पुगे वडा वडामा



मायादेवी अनलाइन, बाणगंगा ।
सरकारी कामको झन्झटिलो प्रक्रियाले आम नागरिकले दुःख पाइरहेका बेला कपिलवस्तुको एक नगरपालिकाले भने उदाहरणीय कामको सुरुवात गरेको छ । जिल्लाको बुद्धभूमि नगरपालिकाले बार्षिक स्विकृत योजनालाई वडा तहमा पुगेर सम्झौता गर्न थालेको हो ।

उपभोक्ता समितिबाट गर्ने योजनाको कामलाई नगरपालिकामा पुग्न नपर्ने गरी बुद्धभूमिले वडा वडामा कर्मचारी खटाएको छ । योजना सम्झौताका लागि पटक पटक नगरपालिकामा आउनु पर्ने र यसबाट आम उपभोक्ताले दुःख पाउने गरेकाले स्वंयम कर्मचारी वडामा आफै गएर सम्झौता गर्ने कामको सुरुवात गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जानकारी दिनुभयो ।

स्थानीय तहमा उपभोक्ता समितिबाट हुने योजना सम्झौताका लागि पटक पटक नगरपालिका धाउनू पर्ने स्थिति छ । लामो दुरी पार गर्दै नगरपालिकामा आएपनि समयमा काम नहुने, आवश्यक कागजात अपुग हुने, कर्मचारी नभेटिने र उपभोक्ताले सास्ति खप्नुपर्ने स्थितिको अन्त्यका लागि यो कामको थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लामै पहिलो पटक नौलो अभ्यासको सुरुवात बुद्धभूमिले गरेको हो । नगरपालिकाको प्रशासनिक कामको झन्झट हटाउने गरी प्रमुख प्रशासकीय अधिकृत गौतम लागि पर्नुभएको छ । नगरबासीलाई नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई छिटो, छरिटो र झन्झटरहित बनाउनका लागि आफूसहित विषयगत फाँटका कर्मचारीले प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

वडामा छुट्याइएका योजनाको काम गर्न उपभोक्ता समिति गठन गर्नुपर्ने र तत्काल योजना सक्ने परिपाटी बसाल्नका लागि आफूहरु वडा वडामा पुगेर काम गरिरहेको उहाँले बताउनुभयो ।

अधिकांश योजनाका काम असारे विकासमा रुपान्तरण हुने गरेका छन् । जसको सबैबाट आलोचना हुने गरेको छ भने, पुजिगत खर्च समयमा नहुँदा समग्र विकास निर्माणको कामलाई समेत प्रभावित पार्दै आएको छ । बुद्धभूमिले सुरुवात गरेको यो कामले यसको पनि अन्त्य हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतमको विश्वास छ ।

अर्कातिर आफूहरुले सुरुवात गरेको अभियानले नगरबासीको समयको बचत हुने र तोकिएको योजना समयसिमा भित्र सम्पन्न गराउन सकिने उहाँको भनाई छ । नगरपालिकाबाट आफूसहित योजना अधिकृत, इन्जिनियर र सम्बन्धित विषयगत फाँटका कर्मचारी वडामा पुगेर काम गरिरहेको उहाँले बताउनुभयो ।

आगामी चैत्र भित्र नगरपालिकाका सबै योजनाका काम सक्ने गरी आफूहरुले काम गरिरहेको नगरपालिकाका योजना शाखाका प्रमुख नविन खनालले बताउनुभयो । चिसो मौसममा पनि आफूहरु वडामा पुगेर काम गरिरहेको खनालले बताउनुभयो ।

नगरपालिकाले यस भन्दा अगाडी दुई लाखसम्मका कामहरु वडाबाटै सम्झौता गर्ने गरी अख्तियारी दिएको थियो । यसबाट आम नगरबासीले लाभ लिइरहेका छन् । योजना सकाएर भुक्तानीका लागि नगरमा आउने फाइलको भुक्तानी ५ मिनेट भित्रै दिने गरी बुद्धभूमिले काम गरिरहेको छ । प्रशासनिक कामलाई सरल बनाउनका लागि आफूहरु लागि परेको नगर प्रमुख केशवकुमार श्रेष्ठ बताउँनुहुन्छ ।

स्थानीय सरकार नजिकको सरकार भएकाले यसमा आफूहरु गम्भीर र सचेत बनेको उहाँले बताउनुभयो । नागरिकको सेवाका लागि आफू नगर प्रमुख बनेको भन्दै आम नगरबासीको सुख, दुखमा काम गरिरहेको उहाँले जनाउनुभयो ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ७ : २८ बजे