२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

शितगंगामा गहना लुट्ने उद्देश्यले एक महिलाको हत्या भएको खुलासा



बिष्णु कुमार आले, अर्घाखाँची । 
अर्घाखाँचीको सिद्धारामा आइतबार भएको घटनाको रहस्य सुनका गहना लुट्ने मनसायले ६० बर्षीया एक महिलाको हत्या भएको खुलासा भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धारा बहखोरस्थित होटल व्यवसाय गर्दै आएकी ६० बर्षीया राधा थापाको सुनका गहना लुट्ने मनसायले हत्या भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरि सोमबार दिउँसो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा एक भारतिय नागरिक रहेका छन् । प्रहरीका अनुसार भारतको गुँडगाउँ हरियाणा घर भई हाल अर्घाखाँची शितगंगा नगरपालिका वडा नंम्बर १० स्थित बोहखोर बस्ने एक महिलासँग विवाह गरि बसेका २३ बर्षीय सुशान्त सिंहलाई पक्राउ गरेको हो ।

यस अघि अभियुक्त सिंहले राधा थापा दैनिक दूध लिन गाउँ जाने गरेको आफूले देखेको र त्यस दिन कपिलवस्तुबाट योजना बनाई सिद्धारा आएर एक रात ससुराली नजिक खाली घरमा रात बिताएको भोलिपल्टको बिहान करिव ९ बजे बाटो नजिकै झाडी खोल्सामा ढुकेर बसेका सिंहले दूध लिन हिडेकी थापाको पछाडिबाट ढुंगा र हसिया प्रहार गरि मारेर खोल्सामा फालेको अभियुक्त सिंहले प्रहरीसामु बयान दिएर आफूले नै हत्या गरेको स्विकार गरेका छन् ।

हत्या गरी सुनका गरगहना लिएर भारत छिर्ने दाउमा भाग्दै गरेका सुशान्तलाई शितगंगा ११ को मुन्द्रीबासस्थित जङ्गलमा छुकीछिपी बसेको अवस्थामा घटना भएको करिव साढे पाँच घण्टा पछि आइतबार दिउँसो करिव साढे दुई बजेको समयमा प्रहरीले पक्राउ गरेको हो ।

जङ्गलमा भेटिएका सुशान्तले लगाएको कपडा र शरिरमा रगत लट्पट्टिएको देखिए पछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा थापाको हत्या आफूलेनै गरेको खुलेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ८ : ०० बजे