२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कपिलवस्तुका व्यवसायीको आन्दोलन जारी, जनप्रतिनिधि र बैङ्करबीच छलफल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघमा आवद्ध व्यापारी–ब्यवसायीले बैङ्करहरुले आफूहरुमाथि दिएको सास्ती सह्य नहुने चेतावनी दिएका छन् । बैङ्क तथा वित्तीय संस्थाबाट भएको चर्को ब्याजदर वृद्धि तथा राष्ट्र बैङ्कद्धारा जारी चालु पुँजि कर्जा निर्देशिका २०७९ का विरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले सोमबार बैङ्करहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

कोरोनापछि आफूहरुको ब्यवसाय उठ्न नसकेको भन्दै किस्ता र ब्याजको नाममा व्यवसायीमाथि अमानवीय ब्यवहार नगर्न उनीहरुले आग्रह छ । संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पूर्व अध्यक्ष विष्णु न्यौपाने, ब्यवसायीहरु खिमानन्द पौडेल, खुमानन्द घिमिरे, लिलापति घिमिरे, गिरीराज कँडेल, रमेशचन्द्र भुसाल लगायतले बोल्दै अहिले ब्यवसायीलाई परेको मर्का बुझ्न बैङ्करहरुलाई आग्रह गरे ।

उनीहरुले भने-‘हिजो ऋण लिँदा कबोल गरिएको अनुपातमा अहिले ब्याजदर दोब्बर बढ्न थालेको छ । ८ प्रतिशतको ब्याज १८ प्रतिशतसम्म पुगेको छ । हिजो ब्यवसाय चलेको थियो । समस्या थिएन । आज व्यवसाय टाँट पल्टेको छ । बैङ्कहरुले ब्याजदर र बभिन्न शूल्क बढाएका छन् । त्यसैको नाममा मानसिक यातना दिने काम बैङ्कबाट भएको छ । यो सह्य हुन्न । त्यस्तो काम तुरुन्त बन्द गर्नुपर्ने माग गर्दछौँ । कति ब्यवसायीको सम्पत्ति लिलाम भइसक्यो । कति हुनेवाला छन् । हामीले तिर्दैनौँ भनेका छैनौँ तर पर्खनुस्, व्याजदर नबढाउनु मात्र भनेका छौँ । त्यो सहजीकरण हुन्न भने हामी पनि बैङ्कमा तालाबन्दी गर्नतर्फ लाग्छौँ ।’

असल नियत राखराख्दै पनि मुलुकभर देखिएको आर्थिक संकटको कारण ब्यवसाय चौपट भइरहेकाले ब्यवसायीले समयमै ब्याज र किस्ता तिर्न नसकेको संघका अध्यक्ष घिमिरेले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याल, वडा अध्यक्षहरु छवि रेश्मी, दुनिका प्रसाद भुसालले नगरभित्रका ब्यवसायीको सुरक्षा गर्नु आफूहरुको दायित्व रहेको बताए । ब्यवसायी अहिले समस्यामा परेको भन्दै ब्याज र किस्ताको नाममा टर्चर नगर्न मेयर अर्यालको आग्रह छ । यो समस्या राष्ट्रिय समस्या भएकाले माथिबाटै समाधान हुनुपर्ने अर्यालले तर्क छ । यद्यपी मिलेर जान दुवै पक्षलाई उनले आग्रह गरे ।

व्यवसायीको कुरा सुनेपछि बाणगंगा बैङ्कर्स क्लवका अध्यक्ष पदम पाण्डेले व्यवसायीमाथि आफूहरुको नियत खराब नभएको बताए । आफूहरु राष्ट्र बैङ्कको निर्देशिकाको मातहत चल्नु पर्ने भएकाले केही ब्यावहारिक सहजीकरणबाहेक अरु केही गर्न नसक्ने पाण्डेले बताए । आफ्ना समस्याबारे लिखित मागहरु राखे केन्द्रसम्म पुर्याउनबाहेक ब्यवसायीका अरु माग आफूहरुले सम्बोधन गर्न नसक्ने बैङ्कका शाखा प्रमुखहरुको भनाई छ ।

पाण्डे र अरु बैङ्कका केही शाखा प्रमुखहरुले आफूहरुले केही गर्न नसक्ने बताएपछि ब्यवसायीले विचैमा कुरा राख्न प्रयास गरेका थिए । कार्यक्रम लामो भएपछि ब्यवसायीले बैङ्कहरुले जसरी पनि पेल्ने भन्दै आफूहरु केही गर्न सक्ने अवस्थामा नरहेको बताए । यद्यपी अन्तिममा दुवैले पक्षले मिलेर जाने बताए ।

संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा नागरिक समाजका अध्यक्ष दोलखराम पछाई, बिभिन्न संघसंस्थाका प्रमुख, संचारकर्मी लगायतको सहभागिता थियो । यो कार्यक्रम महासंघ अन्तरगतकै कार्यक्रम भएको महासचिव पौडेलले बताए । वाणगंगामा सबै वित्तिय संस्थामा ३० अरब लगानी छ भने बैङ्कमा १५ अरब बढी डिपोजिट रहेको बताइन्छ । चरणवद्ध आन्दोलनमा होमिएको संघले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ८ : ०८ बजे