१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

महासचिव पराजुलीले व्यवसायीलाई आस्वस्त पार्दै भने, ‘प्रचण्ड सरकारले व्यवसायीको कुरा सुन्छ’



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले व्यवसायीका कुरा सुन्ने बताएका छन् ।

उद्योग व्यापार संघ कपिलवस्तुले मंगलबार कपिलवस्तुको बाणगंगा नगरपालिकामा आयोजना गरेको कर प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका महासचिव पराजुलीले आफूहरुको भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएको बताएका बताएका हुन् ।

‘आर्थिक मन्दीको कारण अहिले देशभरका ब्यवसायी निकै ठुलो पीडामा छन् । देशभरका साथीहरुले यस्ता गुनासा राख्नु भएको छ । बैङ्कले ब्याज बढाइरहेका छन् । हाम्रो व्यापार छैन । यसको समाधान कसरी हुन्छ ? भन्नेबारे प्रधानमन्त्रीसंग कुरा गरिसकेका छौँ’, उनले भने १५/२० दिन धैर्य गर्न आग्रह गर्नुभएको छ । यो समयमा धैर्य गरौँ । हाम्रो पक्षमा केही हुँदैछ ।’

पराजुलीले यो बीचमा व्यवसायीको पक्षमा सरकारले काम नगरे दर्जनौँ ब्यापारीले आत्महत्याको बाटो रोज्नुपर्ने कहालीलाग्दो स्थिति आउने बताए । अहिलेसम्म बैङ्कको टर्चरका कारण ब्याज तिर्न नसकेर १२ जना व्यापारीले आत्महत्या गरिसकेको समेत उनले बताए ।

महासचिव पराजुलीले व्यवसायीको यस्तो अवस्थामा स्थानीय सरकार, राजस्व, भन्सार, घरेलु संघ लगायतका सरकारी निकायले दोब्बर तेब्बर कर नलिएर सहजिकरण गर्नुपर्ने समेत बताए ।

मुलुकलाई बचाउन अब आयान बन्द गरी निर्यातमा ध्यान दिन, सामान्य, अनावश्यक र फजुल खर्च गर्ने स्थिति बन्द गर्न व्यवसायीलाई आग्रह गरे । बैङ्कहरुले बयाजदर बढाएर आतंक सिर्जना गरेको हुँदा अब उनीहरुविरुद्ध पनि व्यवसायी उत्रनु परेको उनले बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले उद्योग व्यापार संघले निकै राम्रो काम गरेको भन्दै प्रशिक्षणबाट लाभ लिन अनुरोध गरे । उनले आफू व्यवसायीको पक्षमा रहेको बताएका थिए ।

आन्तरिक राजस्व कार्यालय, करदाता सेवा केन्द्र तौलिहवा, घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा र वाणगंगा नगरपालिकाको सहकार्यमा प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, करदाता सेवा कार्यालय तौलिहवाका निमित्त कार्यालय प्रमुख दिनहरी सापकोटा र घरेलु तथा साना साना उद्योग कार्यालय तौलिहवाका श्रवण कुमार सैनीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नगर उप-प्रमुख रिता थारु, नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष खेम श्रीष, लगायतको सहभागिता थियो ।

वरिष्ठ उपाध्यक्ष खिमानन्द पौडेल ‘कपिल’को अध्यक्षता, पत्रकार चन्द्रकान्त न्यौपानेकोे संचालनमा सम्पन्न कार्यक्रममा यस क्षेत्रका करिब २०० व्यवसायीको सहभागिता थियो ।

प्रकाशित मिति : २० पुस २०७९ बुधबार ००:००  ७ : ४८ बजे