१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल दर्शन समाज कपिलवस्तुको १९ औँ बार्षिक साधारणसभा सम्पन्न



अनिश बन्जाडे, जितपुर ।

ठकुरी समुदायको संगठित संस्था नेपाल दर्शन समाज कपिलवस्तुको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार संस्थाको कार्यालयमा एक बिशेष कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न भएको हो । सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै ठकुरी समाज महासंघकी केन्द्रिय सह-कोषाध्यक्ष सुनिता सेनले दर्शन समाजले १९ औँ स्थापना दिवस मनाईरहदा यसले धेरै समस्या, चुनौती र अवसरहरुको सामना गर्दै आज यो स्थानमा पुग्न सफल भएको स्मरण गर्दै खुशी ब्यक्त गर्नुभयो ।

ठकुरी जातिको पहिचान, कला, संस्कृतिको संरक्षण र संबर्धन गर्ने हेतुका साथ स्थापना भएको नेपाल दर्शन समाज कपिलवस्तुले निकै उदाहरणीय कार्य गर्दै आएको र ठकुरी जातिको गरिमालाई उच्च राख्नमा सफल भएको दाबी गर्नुभयो । साथै उहाँले समाजको हक, हित र पुनरुत्थानका लागि केन्द्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा दर्शन समाज कपिलवस्तुका आजिवन सदस्य झलक मल्ल ठकुरीले समाजको बिकासका लागि सबैजना दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिँदै समाजको हरेक कार्यक्रममा सहभागि भएर कमी, कमजोरीलाई सुधारका लागि सुझाब र सबल पक्षलाई प्रोत्साहन गर्न सकेमा संस्थाको आयु लामो हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।

यस्तै दर्शन समाज कपिलवस्तुकी अध्यक्ष सुष्मा खाँणले कपिलवस्तु जिल्लामा ठकुरी जातिको जनसंख्या ४००० को हाराहारीमा रहेको बताउँदै त्यसमध्ये सबैभन्दा बढी बसोवास बाणगंगा नगरपालिकामा रहेको बताउनुभयो । यो हिसाबले बाणगंगाका ठकुरी जातिहरु संगठित भएर लाग्न सकेमा समाजको बिकासमा कुनै पनि कुरा बाधक बन्न नसक्ने बताउनुभयो ।

समाजका निबर्तमान अध्यक्ष तथा बरिष्ठ सल्लाहकार राजेन्द्र बिक्रम शाहले दर्शन समाजको स्थापनाका लागि धेरै अग्रजहरुको पसिना, मिहीनेत र लगनशिलता रहेको बताउँदै संस्थालाई दिगो रुपमा टिकाई राख्न कार्यसमिति संगै सबै ठकुरी जातिको समान सहभागिता आवश्यक रहने तर्क राख्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण बहादुर शाही, बरिष्ठ सल्लाहकार चित्र बहादुर खाँण, आमन्त्रित सदस्य रेशम बहादुर मल्ल लगाएतले बोल्दै समाज प्रगतिको पथमा लम्किरहन सकोस भन्ने शुभकामना सहित सभा भब्य अनि शब्य रुपमा सम्पन्न होस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो ।

नेपाल दर्शन समाज कपिलवस्तुका अध्यक्ष सुष्मा खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठकुरी समाज महासंघकी केन्द्रिय सह कोषाध्यक्ष सुनिता सेनको प्रमुख आतिथ्यता, ठकुरी समाज महासंघका केन्द्रिय सदस्य पदम प्रताप सेन, पूर्व केन्द्रिय सदस्यद्धय दुर्गा बहादुर सेन, बिदुर बहादुर मल्ल लगाएतको बिशिष्ट आतिथ्यता, संस्थाका संस्थापक अध्यक्ष चन्द्र बहादुर मल्ल, संस्थाका पूर्व अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ मा भएका महत्वपुर्ण उपलब्धि एवम् आगामी योजनाका बारेमा समाजका सचिव फविन्द्र सेन, संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी शाही खाँणले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नेपाल दर्शन समाज कपिलवस्तुका सचिव फविन्द्र सेनको सन्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २२ पुस २०७९ शुक्रबार ००:००  ७ : ०६ बजे