१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सिनर्जीको दोस्रो बार्षिक केन्द्रिय साधारण सभा : १ सय ११ सम्मानित



कपिलवस्तु ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक केन्द्रिय साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । यस अघि सेवा क्षेत्र अन्तर्गत एकाईगत रुपमा केन्द्रिय कार्यालय केन्द्र रहेको बाणगंगा नगरपालिका वडा नं. १, २, ३ र ४ को कार्यालय प्राङ्गणमा, वडा नंं. ५, ६, ७ र ९ को जनचेतना आधारभुत विद्यालयमा, वडा नंं. ८ को जलेश्वरधाम बोडगाउँमा, वडा नं.१० र ११ को प्रगतिनगरमा एकैसाथ वार्षिक साधारण सभा सम्पन्न भएको थियो भने अन्तिममा बार्षिक केन्द्रिय साधारण सभा सम्पन्न गरिएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनुभएको छ ।

साधारण सभामा गत आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै छलफल गरिएको थियो । त्यस्तै कार्यक्रममा चालु आर्थिक बर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम, प्रस्तावित बजेट प्रस्तुत गरि छलफल गरिएको थियो ।

यस्तै लाभांस वितरण सम्बन्धमा, संस्थाको विनिमय संशोधन सम्बन्धमा, नीति तथा कार्यविधि संशोधन/पुनर्लेखन सम्बन्धमा, आर्थिक बर्ष २०७९/८० को लेखा परिक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने सम्बन्धमा, दीर्घकालीन ऋण लिने सम्बन्धमा र साधारण सभाको एकाई बैठकको निर्णय लगायत विविध विषयमा एकाईगत रुपमा भएको छलफललाई उचित निष्कर्षमा पु¥याईएको छ ।

साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक डि.बी. रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीले आर्थिक बर्ष २०७८/७९ मा ७४ करोड ५३ लाख २ हजार ८ सय १७ रुपैया ४३ पैसा ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै यसै समयमा कुल ४३ करोड ७६ हजार ४ सय ६६ रुपैया २४ पैसा निक्षेप संकलन गरेको उल्लेख छ । १७ करोड २८ लाख ६० हजार १ सय शेयर पुँजी रहेको उक्त सहकारीमा करिव १० हजार शेयर सदस्य रहेका छन् ।

साधारण सभा मार्फत विशिष्ठ सम्मान ४ जना, ज्येष्ठ नागरिक २ जना, स्थानीय जनप्रतिनिधि १४ जना, संस्थागत रुपमा ४४ वटा, उद्यमी २८ जना, शैक्षिक सम्मान ८ जना, असल ऋणि ९ जना तथा कर्मचारी ९ जना गरि १ सय ११ जना व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

त्यस्तै सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एटीएम सेवा शुभारम्भ गरेको छ । सेवाग्राहीको आवश्यकता र सहकारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ एटीएम सेवा शुभारम्भ गरिएको हो । अब सेवाग्राहीले पैसा झिक्नका लागि कार्यालयमै पुग्ने बाध्यता अन्त्य भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले सहकारीको माध्यमबाट नागरिककको जीवन स्तर उकास्न आवश्यक रहेकोमा जोड दिनुभयो । सिनर्जी सहकारी बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋणको मात्र काम नगरि अन्य धेरै आर्थिक स्तर माथि पुग्ने खालका कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सिनर्जीले गरेका काम प्रशंसनीय रहेको जिकिर गर्दै परम्परागत भन्दा अब सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै विशिष्ठ अतिथि प्रदेश सांसद गिरधारीलाल न्यौपानेले जनताको आर्थिक स्तर उकास्नका लागि सहकारीको अहम भुमिका रहेको बताउनुभयो । उहाँले सदस्यमुखी सहकारी बन्नुपर्ने भन्दै सिनर्जीले आर्थिक रुपमा राम्रो प्रगति गरेको बताउनुभयो । न्यौपानेले स्थानीय नागरिकहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने गरि आर्थिक क्रियाकलाप गर्न सुझाव दिनुभयो

त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले बाणगंगा नगरपालिकाले ल्याएको सहकारी एकता प्रक्रियालाई अवलम्वन गर्दै सिनर्जी सहकारी नगरमै उत्कृष्ट सहकारी बन्न सफल भएको बताउनुभयो । नगरपालिकाको आर्थिक स्तर चलायमान बनाउन सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताउनुभयो ।

सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

अध्यक्ष बेल्बासेले कृषि, कृषि जन्य उद्यम, बजार प्रवद्र्धन, उद्यमशिलता विकास, रोजगार प्रवद्र्धन, बचत तथा ऋण परिचालन, आन्तरिक पर्यटन प्रवद्र्धनको अभिप्रायले समान कार्यक्षेत्र, सदस्यमा दोहोरोपना कम गर्दै क्रियाकलापमा एकरुपता एवम् श्रोत परिचालन आदिमा समानता भएका सहकारीहरु बिच सहकार्य गर्दै अगाडि बढ्ने स्पष्टताका साथ अगाडि बढेको बताउनुभयो ।

अध्यक्ष बेल्बासेले आगामी दिनहरुमा दिर्घकालीन रणनैतिक योजना, पञ्चबर्षीय व्यवसायीक योजना र त्यसका आधारमा तय गरिने वार्षिक नीति, बजेट तथा कार्यक्रमका आधामा विस्तृत कार्ययोजना निर्माण गरी सहकारीलाई निर्दिष्ट गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले साधारण सभा सभ्य रुपमा सफल पार्न आ आफ्नो दायित्व पुरा गर्ने सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।

सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेको अध्यक्षता, संस्थाका उपाध्यक्ष कुलराज पौडेलको स्वागत मन्तब्य तथा सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा बाणगंगाका नगर उप प्रमुख रीता कुमारी चौधरी, सहकारी संघ प्रदेश लेखा संयोजक तेजप्रसाद आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष गुणानिधि भुसाल, सहकारी बैंक बुटवल शाखा अधिकृत नारायण बेल्बासे, बाणगंगा ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसाल, वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरी, वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्याल, वडा नं. ९ का कमल पौडेल, वडा नं. १० का वडाध्यक्ष यम प्रसाद पोख्रेल, व्यवस्थापक दिनामणि खनाल, जनप्रतिनिधिहरु, सहकारीका कर्मचारी, पत्रकार लगायतको आतिथ्यता तथा शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७९ मंगलबार ००:००  ७ : ०४ बजे