१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

लुम्बिनीको मुख्यमन्त्रीमा गिरी, को हुन् उनी ?



बुटवल ।
इमान्दार र सादगी नेताको छवि बनाउनुभएका नेकपा (एमाले) का नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त हुनुभएको छ ।

प्रदेश सभाको निर्वाचनमा रुपन्देही २ (१) बाट दोस्रोपटक निर्वाचित हुनुभएका प्रदेश सभाका अग्रज तथा पाका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित गिरी एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सर्वसम्वत रुपमा चयन हुँदै अन्ततः लुम्बिनी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त हुने अवसर प्राप्त गर्नुभयो ।

गिरी विक्रम संवत् २०७४ सालमा शंकर पोखरेल नेतृत्वको पहिलो प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । गिरी झण्डै ४ वर्ष मन्त्रालयमा रहनुभयो ।

समाज सेवा गर्ने निक इच्छा पूरा गर्न राजनीतिमा होमिनुभएका गिरी बुवा स्व. मुक्तिनाथ गिरी र आमा केशवकुमारी गिरीको जेष्ठ सुपुत्रको रुपमा गुल्मीको रुरु गाउँपालिका–५, बम्घा सौरिवोटमा वि.स. २०११ साल चैत १४ गते जन्मिनुभएको हो ।

हाँको परिवार २०३४ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगरमा बसाई सरेको हो । उहाँका धर्मपत्नी इन्दिरा गिरी, एक छोरा, दुई छोरी हुनुहुन्छ । तीन दाजुभाई र दुई बहिनीमा उहाँ सबैभन्दा जेठो सन्तान रहनुभएका गिरी सामान्य किसान परिवारको हुनुहुन्छ ।

मुख्यमन्त्रीमा नियुक्त गिरीले भारतको पञ्जाव विश्वविद्यालयबाट स्नातक तह उर्तिण गर्नुभएको छ । इमान्दार र सादगी नेताको छवि बनाउनुभएका गिरी वि.सं.२०२२ सालमा गुल्मी जिल्लामा तत्कालीन विभेदयुक्त सामाजिक व्यवस्थाका विरुद्धको आन्दोलनबाट प्रभावित भई कम्युनिष्ट (वाम) आन्दोलनमा लाग्नुभएको हो ।

माध्यमिक स्तरको शिक्षा आर्जन गर्ने वेलादेखि त्यहाँका प्रधानाध्यापक (स्व.)सिद्धिनाथ ज्ञवालीको नेतृत्वमा तत्कालीन पञ्चायतविरुद्धको आन्दोलनमा गिरी बाल्यकालमै सरिक हुनुभएको थियो । तत्कालिन समाजको थिचोमिचो, अन्याय र विभेदको अन्त्य हुनुपर्छ र समतामुलक समाज निर्माण हुनुपर्छ भन्ने चेतना र भावना उहाँमा बाल्यकालदेखि नै जागेको थियो ।

गुल्मीबाट रुपन्देहीमा बसाई सरेपछि वामपन्थी नेताहरुसंग उहाँको सम्बन्ध जोडियो । ०३६ सालको विद्यार्थी आन्दोलन, ०३७ सालको मजदुर आन्दोलनमा उहाँ सरिक हुनुभयो । ०३९ सालमा क्रान्तिकारी बुद्धिजीबी संघमा आबद्ध हुँदै राजनीतिक कमिटीका औपचारिक नेतृत्वमा सामेल हुनुभयो ।

बीए सम्मको अध्ययन गर्नुभएका उहाँले केही समय गुल्मी र रुपन्देहीमा रहेर शिक्षक भएर पनि काम गर्नुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको आन्दोलनमा सहभागी हुँदै ०३८ सालमा अखिल नेपाल किसान संगठनको इलाका अध्यक्ष भएपछि उहाँले भूमिगत कम्युनिष्ट पार्टी नेकपा मालेमा सक्रिय सदस्य भएर काम गर्न थाल्नुभयो ।

०४५/०४६ सालको पञ्चायत बिरोधी आन्दोलनताका उहाँ नेकपा मालेको जिल्ला कमिटी सदस्यको हैसियतले जिल्ला वाममोर्चाको सदस्य भएर नेतृत्व गर्नुभएको थियो ।

बि.सं. ०४७ सालमा पार्टी एकीकरण भएपछि नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुनुभएका गिरी जिल्ला पार्टीको उपसचिव, सचिव र अध्यक्ष तथा अञ्चल कमिटी हुँदै नवौं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य र रुपन्देही जिल्ला कमिटीको इन्चार्ज, नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय सदस्य बन्नुभएको थियो ।

चितवनमा सम्पन्न भएको पार्टीको दशौं महाधिवेशनबाट नेता गिरी पोलिटब्यूरो सदस्य र लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज भएर जिम्मेवारी पूरा गर्दै आउनुभएको छ ।

गिरी वि.सं.२०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त वाममोर्चाको जिल्ला सदस्यको रुपमा र २०६१ सालमा रुपन्देही पार्टी जिल्ला प्रमुखको रुपमा शाही‘कु’को विरुद्वको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहनुभयो ।

शाही कु का विरुद्धको आन्दोलनमा लागेको भन्दै उहाँले तीन महिना जेल सजायँ भोग्नुभयो । ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा उहाँले रुपन्देहीमा रहेर कमाउण्ड सम्हाल्नुभयो । ०३५/०३६ ताक नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा सक्रिय सहभागी हुँदा उहाँलाई तत्कालीन प्रशासनले वारेन्टको सूचिमा राखेको थियो ।

नयाँ व्यवस्था बहालीका लागि भूमिगत रहेर विभिन्न समयका आन्दोलनमा पनि उहाँ सक्रिय रहनुभयो ।
२०७५ मा नेकपा एमाले र माओवादी केन्द्र बीच भएको एकताबाट बनेको नेकपाको केन्द्रीय सदस्य हुुनुभएको थियो ।

२०७८ सालमा नेकपाको विभाजन भएपछि एमाले लुम्बिनी प्रदेशको अध्यक्ष भएका गिरी एमालेको दशैँ महाधिवेशनबाट पोलिटव्युरो सदस्य चयन हुनुभयो ।

अविच्छिन्न पार्टी राजनीतिमा सक्रिय हुँदै प्रतिकूल अवस्थामा पनि कुशलतापूर्वक कार्यभार सम्हाल्न सक्ने क्षमता उहाँले पटक पटक प्रदर्शन गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९ बिहिबार ००:००  ५ : २५ बजे