१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

यसवर्षको हिउँद सुक्खा हुने अनुमान, सिँचाइ व्यवस्थापनमा ध्यान दिन आग्रह



काठमाण्डौ ।

यसवर्षको हिउँद सुक्खा हुने अनुमानसहित नेपाल कृषि अनुसन्धान परिषद् नार्कले हिउँदे बाली र फलफूलमा सिँचाइ व्यवस्थापनमा विशेष ध्यान दिन किसानलाई आग्रह गरेको छ ।

नार्कको कृषि वातावरण अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागले कृषि मौसम सल्लाह बुलेटिनमार्फत् किसानलाई प्लास्टिक पोखरीमा पानी जम्मा गरी थोपा सिँचाइ, स्पिङ्गकल लगायतबाट सिँचाइ व्यवस्थापन गर्न आग्रह गरेको हो ।

७१ वटा मौसम केन्द्रहरुमा मापन गरिएको साप्ताहिक कुल वर्षाको तथ्याङ्क अनुसार कुनै पनि केन्द्रमा वर्षा मापन भएको छैन । तर हिउँदे बाली गहुँ आलु तथा फलफूलमा पानी दिन आवश्यक छ । गहुँ छरेको २०–३० दिनभित्र जरा पलाउने अवस्थामा गहुँको जरा भिज्नेगरी पहिलो सिँचाइ र ५०–५५ दिन भइसकेको गहुँबालीमा सिँचाइ पछि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार टपड्रेस गर्न आग्रह छ ।

तोरी तथा बकुल्ला बालीमा लाही कीराको व्यवस्थापन गर्न तथा अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागि पनि नार्कले किसानलाई सल्लाह दिएको छ । तराईका जिल्लामा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको जोखिमबारे अनुगमन गर्न पनि सल्लाह छ ।

कृषि र पशु सम्बन्धी जिज्ञासाको नार्कले पैसा नलाग्ने फोन ११३५ मा हरेक सोमवार दिँउसो २ देखि ४ बजेसम्म सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७९ आइतबार ००:००  ८ : १५ बजे