१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

ग्यास सिलिण्डर बिष्फोटः ठूलो जनधनको क्षति हुनबाट बच्यो बाणगंगाको माघी मेला



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा ग्यास सिलिण्डर बिष्फोट भएको छ । नगरको वडा नं. ९ कपिलधाममा आयोजना गरिएको माघी तथा खिचडी महोत्सवमा ग्यास सिलिण्डर बिष्फोट भएको हो । ग्यास बिष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय प्रहरीका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताए । ग्यास बिष्फोटबाट ज्यान गुमाउनेमा बाणगंगा-८ सिसनियाँका ६५ बर्षीय नासिर महोमद रहेका छन् ।

मृतक नासिर ग्यास मार्फत बेलून बनाएर बेच्ने व्यापारी हुन् । ग्यास मार्फत बेलून बनाएर बालबच्चालाई बेच्ने उद्धेश्यले सोमबार उनी कपिलधाम आएका थिए । दिनभर जसो बेलून बेचेका नासिर अपराह्नपख एकाएक आफैले प्रयोग गर्ने ग्यास बिष्फोट हुँदा ज्यान गुमाउन पुगेका छन् ।

‘ग्यास बिष्फोटले ठूलो जनधनको क्षति हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन् । एकाएक ठूलो स्वरमा ग्यास बिष्फोट भएको सहकर्मी हरि अधिकारीले बताए ।

‘ठूलै स्वरमा बिष्फोटको भएको आवाज सुनियो, दुर्घटनाको प्रकृति हेर्दा ठूलै हातहाती हुने स्थिति थियो, परिस्थितिबस ठूलो क्षति हुन पाएन्’, अधिकारीले भने ।

ग्यास बिष्फोटबाट नासिर क्षतविक्षत भएका छन् । उनको कुनै पनि अंग सग्लो छैन् । उनी नजिकै थुप्रै मेला भर्न आएका सर्वसाधारण रहे पनि अरु दुई जना मात्र घाइते हुन पुगेको बताइएको छ ।

सुरुवातमा हाइड्रोजन भएको सिलिण्डर भनिए पनि त्यो नभएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

जानकारहरुका अनुसार व्यापारीले उक्त ग्यासमा खरानी मिश्रण गरेर आफै बनाउने गर्थे । यो विषयमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

मृतको शवलाई पोस्टमार्टमका लागि तौलिहवा पठाइएको छ ।

मेलामा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल र नगर उपप्रमुख रिता चौधरी सरिक थिए । सरकारले सोमबार देशैभर शोक विदा दिएको थियो । आइतबार पोखरामा भएको जहाज दुर्घटनामा ७२ जनाले ज्यान गुमाए पछि सरकारले सोमबार देशैभर शोक विदा दिएको थियो ।

तर शोक विदामा बाणगंगा नगरपालिका भित्र माघी महोत्सवको उद्घाटन गरिएको छ । शोक विदामा मेला उद्घाटन भएको भन्दै बाणगंगा नगरको आलोचना भएको छ ।

प्रकाशित मिति : २ माघ २०७९ सोमबार ००:००  ६ : १९ बजे