८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मन्त्रिपरिषद विस्तार, कपिलवस्तुमाथि एमालेको उपेक्षा



मायादेवी अनलाइन, कपिलवस्तु ।
मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।

माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।

यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

कपिलवस्तुमाथि एमालेको उपेक्षा
नयाँ थपिएको मन्त्रीमण्डलमा कपिलवस्तुका बलराम अधिकारीको चर्चा भएपनि अन्तिम समयमा नाम काटिन पुगेको छ ।

एमालेले अधिकारीलाई मन्त्री बनाउने तयारी गरेपनि अन्तिम समयमा मन्त्रीबाट नाम काटिएको हो ।

एमालेले मन्त्री नियुक्तीमा आफैले बनाएको मापदण्डको समेत उल्लङ्घन गरेको छ । एमालेले मन्त्री नियुक्ती गर्दा दुई पटक सांसद भएको र आजसम्म मन्त्री हुन नपाएकालाई अवसर दिने बताएको थियो । यो नियम अरुलाई लागू भएपनि अधिकारीलाई लागू नगरिएको हो । अधिकारी ०७० को संविधान सभामा निर्वाचित भएका सांसद हुन् ।

गत मंसिर ४ गते कपिलवस्तु १ बाट निर्वाचित भएका अधिकारी पार्टीका केन्द्रीय सदस्य समेत हुन् । कपिलवस्तु जिल्ला इन्चार्ज समेत रहेका अधिकारीलाई मन्त्री बनाउने गरी तयारी भएपनि अन्तिम समयमा नाम काटिएको हो ।

प्रकाशित मिति : ३ माघ २०७९ मंगलबार ००:००  २ : १४ बजे