७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु शिवराज नगरपालिकाका मेयर अजय थापाले दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बैङ्किग शिविर मार्फत वितरण गरिने बताउनुभएको छ ।

यसका लागि नगरपालिकाले सम्पूर्ण प्रकिया पुरा गरी काम अगाडी बढाएको मेयर थापाले जानकारी दिनुभएको छ ।

माघ महिनाको ८ गतेबाट जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुमा पूर्ण अशक्त र अति अशक्त भएका व्यक्तिहरुलाई भत्ता वितरण गरिने थापाले बताउनुभयो ।

शिवराज नगरपालिकाको सामाजिक सुरक्षा तथा पंजीकरण उप–शाखाको तथ्याङ्क अनुसार शिवराज नगरपालिकामा कुल भत्ता खाने लाभग्राही १२ हजार ८२० रहेको उप–शाखामा कार्यरत भावना पौडेलले बताउनुभयो ।

शिवराज नगरपालिकाले आफ्नो पालिका भित्र प्रत्येक त्रैमासिकमा लगभग ६ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताए ।

बैङ्किग शिविर मार्फत भत्ता वितरण गर्दा ३ हजार ९९२ जनाले वडा मार्फत सेवा लिन सकिने थापाले बताउनुभयो । थापाले वृद्ध र अपाङ्गता भएका व्यक्तिहरुले बैङ्कमा लाइन बसेर भत्ता लिने गरेको दृष्यले आफूलाई पीडाबोध गराएकाले घर आगनामा भत्ता वितरण गर्ने निर्णय लिएको बताउनुभयो ।

आफ्नो चुनावी घोषणपत्रमा समेत भत्ता वितरणलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेकाले यसलाई मुर्त रुप दिएको थापाले बताउनुभयो । थापाले फेसबुक स्टाटस लेख्दै वृद्धबुवा आमाले दुःख गर्दै चन्द्रौटा धाउनु नपर्ने र वडा मार्फत बैङ्किग शिविर संचालन गरी भत्ता वितरण गर्ने उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९ बिहिबार ००:००  ६ : ११ बजे