१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनेरास्ववियू लुम्बिनीले फाल्गुण मसान्त भित्र जिल्ला सम्मेलन गरिसक्ने



मायादेवी अनलाइन, देउखुरी ।
अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटीले आगामी फाल्गुण मसान्त भित्र जिल्लाहरुका सम्मेलन गरिसक्ने भएको छ ।

बुधबार दाङको भालुवाङमा बसेको प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

आसन्न स्ववियू निर्वाचन र संगठनात्मक स्वरुपलाई व्यवस्थित बनाउनका लागि आगामी फाल्गुण १५ गते भित्र क्याम्पस र मसान्त भित्र जिल्ला सम्मेलन गर्ने गरी बैठकले निर्णय गरेको अनेरास्ववियूका प्रदेश अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

क्याम्पस तथा जिल्ला सम्मेलन तोकिएको समय भित्र सम्पन्न गर्नका लागि प्रदेशका १२ वटै जिल्लाका इन्चार्ज तोकिएको प्रदेश कमिटी उपाध्यक्ष मनु अधिकारीले बताइन् ।

उपाध्यक्ष अधिकारीका अनुसार बाँके, बर्दिया, दाङको इन्चार्जमा अध्यक्ष टेकेन्द्र मल्ल, रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी उपाध्यक्ष छवि भट्टराई, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा र पूर्वी रुकुम दीपक अनुरागीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै बैठकले प्रदेशको कोषाध्यक्षमा कालीबहादुर डागीलाई जिम्मेवारी प्रदान गरेको छ । संगठन छाड्ने प्रताप घर्ती, भगौती यादव, डिआर भण्डारी लगायतलाई कारबाही गरिएको अधिकारीले बताइन् ।

बैठकले प्रदेश महिला विभागको प्रमुखमा उपाध्यक्ष मनु अधिकारी र सचिवमा सम्झना चौधरीलाई जिम्मेवारी दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले सामाजिक र शैक्षिक मुद्धामा अनेरास्ववियू अग्रभावमा रहनुपर्नेमा जोड दिए । आसन्न स्ववियू निर्वाचनमा धेरै क्याम्पस जित्ने गरी लाग्न विद्यार्थी नेतालाई उनले निर्देशन समेत दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका चौधरीले विश्व कम्युनिष्ट आन्दोलनमा गलत चिन्तन विरुद्ध विद्रोह भएको र त्यो विद्रोह नै सफल हुँदै आएको स्मरण गरे । एकीकृत समाजवादी दक्षिणपन्थी विचार विरुद्ध विद्रोह गरी निर्माण भएको भन्दै यो पार्टीको भविष्य उज्जव रहेको उनले बताए ।

बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेशका मोर्चा फाँट इन्चार्ज अब्दुल हुसेन खाँ, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज माधव पन्त, पार्टीका केन्द्रीय परिषद सदस्य मुकुन्द रोका, दाङ पार्टी अध्यक्ष सुरामणी बेल्वासे लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७९ बिहिबार ००:००  ६ : ३३ बजे