१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बाणगंगा एक्सनमा उत्रिएपछि खाली हुँदै सडक अतिक्रमण



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकामा सडक अतिक्रमण विस्तारै हट्दै जान थालेको छ । सडक अतिक्रमण नगर्न सार्वजनिक सूचना जारी गर्दा समेत अटेरी गरेपछि बाणगंगा नगरपालिका आफै अनुगमनमा निस्किएको थियो ।

तोकिएको समयावधि भित्र सडक अतिक्रमण खाली नभएका स्थानमा बाणगंगा नगरपालिकाले अनुगमन गरे लगत्तै अतिक्रमण विस्तारै खाली हुँदै गएको छ ।

अटेरी गर्नेमाथि नगरपालिकाले एक्सन चाल्ने देखेपछि अतिक्रमित सडक खाली हुँदै गएको हो । महेन्द्र राजमार्ग अन्तर्गतका बजारहरुमा व्यवासायीले सामग्री हटाउन थालेका छन् भने डेलागाढा पनि सडकबाट हट्न थालेका छन् ।

नगरका कोइली बनगाई, घेरवा बनगाई, बोडगाउँ, चारनम्बर, बैरिया, पिपरा जस्ता बजारमा अतिक्रमित सडक खाली हुन थालेका हुन् ।

बाणगंगाले १५ दिने समय दिएर सडक अतिक्रमण खाली गराउन निर्देशन दिएको थियो । उक्त निर्देशन कार्यान्वयन भए नभएकोबारे नगरपालिका आफै अनुगमनमा निस्किएको थियो ।

नगर उप-प्रमुख रिता कुमारी थारुले सडक क्षेत्र अतिक्रमण गरी संचालन गरिएका व्यापार व्यवसाय हट्न थालेको बताइन् ।

मुख्य सडक र सडक पेटी मिचेर राखिएका पसलका सामग्री ठेला गाडाले नगरको सुन्दरता बिग्रँदै गएको र सवारी दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण खाली गराउन थालिएको उप-प्रमुख थारुले बताइन् ।

नगरको चेतावनीलाई अटेर गरे नगरपालिकाले जुनसुकै समयमा बल प्रयोग गर्न सक्ने उनले चेतावनी दिइन् ।

नगरपालिकाले सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ को उपदफा १ र स्थानीय सरकार सन्चालन ऐन, २०७४ को दफा ४५ उपदफा १ मा दिइएको कानुनी अधिकार प्रयोग गरी सडक अतिक्रमण हटाउन थालेको हो ।

प्रकाशित मिति : ५ माघ २०७९ बिहिबार ००:००  ८ : २२ बजे