८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कर्मचारीको घरमै छैन् शौचालय, विजयनगरका चार कर्मचारी परे कारबाहीमा



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा सरकारी कार्यालयमा कर्मचारीले नै शौचालय निर्माण नगरेको पाइएको छ । जिल्लाको विजयनगर गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी कारबाहीमा परे पछि यसको खुलासा भएको हो ।

गाउँपालिका तीन वर्षअघि नै खुल्ला दिशामुक्त घोषणा भइसकेको छ । तर यसको कार्यान्वयन नभए पछि पालिका एक्सनमा उत्रिन थालेको छ ।

घरमा शौचालय नबनाएको भन्दै वडा नम्बर ७ को कार्यालयले विभागीय कारबाहीको लागि पालिकालाई सिफारिश गरेको वडाअध्यक्ष दिनेश चौधरीले बताए ।

विजयनगर गाउँपालिका कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र नाली जाम गरि सडक फोहर गरेको भन्दै वडा नम्बर ३ मा कार्यरत सहयोगी दयाराम लोनियालाई विभागीय कारबाही गर्न पत्र पठाइएको छ ।

वडाले विगतदेखि सरसफाइको अभियान सञ्चालन गर्दै आएको भए पनि अटेरी गरेकोले कारबाही गरिने वडाध्यक्ष चौधरीले बताए ।

‘पटक पटक आग्रह गरेको हुँ। अहिलेको समयमा शौचालय नबनाएर सरकारी कार्यालयमा काम गर्ने छुट कसैलाई छैन,’ चौधरीले भने, ‘वडाका सबै नागरिकहरूको स्वास्थ्यलाई मद्देनजर गर्दै सरसफाइ अभियान लागू गरेको छौं ।’

कर्मचारीहरूले २ वर्षदेखि शौचालय बनाउन शुरु गरेको भने पनि पूरा नगरेर अटेरी गरेको वडाध्यक्ष चौधरीले बताए।

यता कारबाहीको सिफारिशमा परेका कर्मचारीलाई गाउँपालिकाले स्पष्टीकरण लिने गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताए । सरसफाइ अभियन्ताको रूपमा हुनुपर्ने व्यक्तिले शौचालय नबनाउनु गैरजिम्मेवार रहेको थापाको भनाइ छ ।

प्रकाशित मिति : ६ माघ २०७९ शुक्रबार ००:००  ६ : १३ बजे