१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

शिक्षक दरबन्दी मिलान गर्दै शिवराज



मायोदवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले शिक्षक दरबन्दी मिलान गर्न थालेको छ । सामुदायिक विद्यालयमा रहेका शिक्षक, शिक्षिकाको दरबन्दी मिलान गर्न तर्फ शिवराज अग्रसर भएको हो ।

संविधानले कक्षा १२ सम्मको शिक्षा हेर्ने जिम्मा स्थानीय पालिकालाई दिएको छ । सोही कानुनी व्यवस्था अनुसार नगरपालिकाले आफ्नै कानुन निर्माण गरी शिक्षक दरबन्दी मिलान गर्न लागेको हो ।

शिवराजका नगर प्रमुख अजय थापाले शिक्षक दरबन्दी र विद्यालय मर्जको काम भइरहेको बताए । नगर भित्र रहेका विद्यालयको शिक्षक अनुपात मिलाउने गरी दरबन्दी मिलान गर्न लागेको मेयर थापाले जनाए ।

कक्षा १२ सम्मको शिक्षा निशूल्क बनाउने अभियानमा लागेका मेयर थापाले शिक्षक दरबन्दी मिलान गरेर अर्को उत्कृष्ट काम गर्न थालेका हुन् ।

स्थानीय तहले राजनीतिक दबाब र प्रभावको कारण लामो समय देखि दरबन्दी मिलान गर्न सकेका छैनन् । शिवराज नगरपालिकाले भने नयाँ जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष नपुग्दै यो काम गर्न लागेको हो ।

नगरपालिकाले शिक्षक दरबन्दी मिलानसंगै विद्यालय मर्ज पनि गर्न लागेको नगरका शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले बताए ।

अप्रयाप्त शिक्षक दरबन्दीको सामना गरिरहेको शिवराजले दरबन्दी कायम रहेका शिक्षकलाई घटनपटन गर्ने छ भने अपुग शिक्षकलाई स्वयमसेवक शिक्षक खटाएर शिक्षण प्रक्रिया अगाडी बढाउने छ ।

नगरका कतिपय विद्यालयमा पूर्ण दरबन्दी कायम छ भने कतिपय विद्यालयमा दरबन्दी भएका शिक्षक नै छैनन् । जसले गर्दा नगरको शिक्षण सिकाईमा नकरात्मक प्रभाव परेको छ ।

नगरका कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून छ । विद्यालय न्यून रहेको शिक्षण संस्था अर्कामा मर्ज गरिने छ ।

जिल्लामा यसभन्दा अगाडी बाणगंगा नगरपालिकाले शिक्षक दरबन्दी मिलान गरिसकेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९ शुक्रबार ००:००  ६ : ४६ बजे