१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

लुम्बिनीमा राष्ट्रिय सभाका सदस्यको उपनिर्वाचन माघ २५ गते



दाङ ।

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको माघ २५ गते हुने भएको छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने भएको छ ।

उपनिर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार माघको ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।

माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालीका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेश भर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९ शनिबार ००:००  १२ : ३४ बजे