११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, काठमाडौँ लागे मुख्यमन्त्री



बुटवल ।
पुस २७ गते शपथ लिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन् । गठबन्धन दलहरुबीच भागबण्डा मिलाउन नसक्दा उनले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् ।

प्रदेशस्तरमै भागबण्डा मिलाउन नसकेपछि उनी केन्द्रको सहारा खोज्दै काठमाडौँ जाने तयारीमा छन् । उनी साझेदार दल तथा आफ्नै दलका नेताहरूसँग छलफल गर्नको लागि काठमाडौँ जाने तयारीमा रहेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएसँगै पुस २८ गतेबाट कार्यभार सम्हालेका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । तर, यो बीचमा दुई जनालाई विना विभागीय मन्त्री बनाउनुबाहेक अन्य प्रगति हुन नसकेको हो । काठमाडौँ गएर गिरीले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूसँग छलफल गर्ने बताइएको छ ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भनेर भनिएकामा यहीबीचमा नेकपा माओवादी केन्द्र लुम्बिनीका संसदीय दलका नेता जोखबहादुर महराकी आमा रमिता महराको निधन भएपछि छलफल थप प्रभावित भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री चेतनारायण आचार्यले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश दलका नेता महरा आफैँ मन्त्री बन्ने तयारीमा छन्। मुख्यमन्त्री गिरिसँगै उनले शपथ लिने भनिए पनि रोजेको मन्त्रालय नपाएपछि मन्त्री बनेका थिएनन्। मुख्यमन्त्रीसँग एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा के शीले मन्त्रीको शपथ लिएका थिए । विना विभागीय मन्त्रीहरू अहिले प्रदेश राजधानी दाङमा व्यवस्थापकीय काममा सीमित भएका छन् । मन्त्री आर्चायले आफूहरूले अहिले दाङमा मन्त्रालयको व्यवस्थापनका साथै कर्मचारी र अरु मन्त्री कहाँ कसरी राख्ने भन्ने विषयको व्यवस्थापनमा खटिएको बताए ।

गिरी नेतृत्व सरकारले लुम्बिनी प्रदेशमा मन्त्रालय घटाएर १० वटामा झार्ने निर्णय गरेको छ । यस आधारमा धेरै दल मिलेर बनेको सरकारमा मन्त्रालय भागबन्डामा सबैको चित्त बुझाउन सकस पर्ने देखिन्छ । अनौपचारिक छलफलमा मुख्यमन्त्रीसहित एमालेले ४, माओवादीले ३, जनमत पार्टी ,राप्रपा, नागरिक उन्मुक्ति पार्टीले एक एक मन्त्रालय दिने तय गरिएको छ । तर कुन मन्त्रालय कसलाई दिने भन्ने अझै स्पष्ट छलफल भएको छैन । आचार्यले पनि कुन मन्त्रालय कसलाई दिने भन्नेबारे अझै एकिन नभएको बताए । अव यो विषयमा एक साताभित्र टुंगिने उनको विश्वास छ ।

लुम्बिनीमा एमालेबाट भूमिश्वर ढकाल, भोज प्रसाद श्रेष्ठ, दिनेश पन्थी र विष्णु पन्थी मन्त्रीको मुख्य दाबेदार छन् । यस्तै माओवादीबाट इन्द्रजित थारु, दीपेन्द्र पुनले दाबेदारी प्रस्तुत गरेका छन् । पुन स्वतन्त्र उम्मेदवार बनेर रोल्पाबाट चुनाव जितेपछि माओवादीमा प्रवेश गरेका थिए । यसअघि माओवादीबाट कृष्णा केसीले विनाविभाग मन्त्री बनिससेकी छन् । यस्तै पाल्पाबाट जितेका तुलाराम घर्ती मगर सभामुखको भू्मिकामा छन् ।

प्रकाशित मिति : ९ माघ २०७९ सोमबार ००:००  ६ : ०५ बजे