१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनेरास्ववियू कपिलवस्तुले २४ औं जिल्ला सम्मेलन गर्दै



मायादेवी अनलाइन, बाणगंगा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कपिलवस्तुले २४ औं जिल्ला सम्मेलन गर्ने भएको छ ।

यही माघ २८ गते शनिबारको दिन २४ औं जिल्ला सम्मेलन गर्ने गरी मिति तय गरिएको अनेरास्ववियूका जिल्ला कमिटी सचिव कमल बेल्वासेले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव तथा अनेरास्ववियूका इन्चार्ज कमल भट्टराईको प्रमुख आतिथ्यतामा शनिबार बसेको जिल्ला सचिवालय बैठकले उक्त मिति तय गरेको र आजै देखि मावि र क्याम्पसतहका कमिटी गठनमा संगठन जुटेको उनले बताए ।

गोरुसिंगेमा हुने सम्मेलनमा विधानमा व्यवस्था भए बमोजिम जिल्लाभरबाट झण्डै एक सय प्रतिनिधि ल्याउने गरी तयारी भएको उपाध्यक्ष सम्झना चौधरीले बताइन् ।

अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार जिल्ला सम्मेलन तोकिएकै मितिमा हुन लागेको उनले बताइन् ।
अनेरास्ववियू कपिलवस्तुको नेतृत्वमा हाल दिपक अनुरागी छन् ।

तत्कालिन नेकपा विघटन भएपछि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरी वि.सं. २०७७ चैत्र १० गते अनेरास्ववियूको पुर्नगठन गरिएको थियो । पछि ०७८ भाद्र ३ गते नेकपा (एकीकृत समाजवादी) निर्माण भए पछि कार्तिकमा जिल्ला भेला गरेर अनुरागीको नेतृत्वमा अनेरास्ववियू बनेको थियो ।

आसन्न चैत्र ५ गते स्ववियु निर्वाचनको मिति तोकिएको र संगठनलाई अझ सुदृढ र व्यवस्थित बनाउनका लागि अनेरास्ववियू सम्मेलन गर्न जुटेको हो ।

सम्मेलन सफल पार्नका लागि आर्थिक व्यवस्थापन, संगठन सृदृढिकरण, प्रतिनिधि व्यवस्थापनमा संगठन जुटेको अनेरास्ववियूले जनाएको छ । समाजवादी शिक्षा प्राप्तिमा लागि यो अनेरास्ववियूले विभिन्न रचनात्मक काम गर्ने जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९ सोमबार ००:००  ६ : ५५ बजे