१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

हिलवर्ट स्कूल काठमाडौं र बुटवलका कुनै विद्यालयभन्दा कमजोर छैन्ः विष्णु पन्थी



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कपिलवस्तुको बाणगंगाामा रहेको हिलवर्ट बोर्डिङ स्कूलको मुक्तकण्ठले प्रसंसा गरेका छन् ।

अन्य कार्यक्रममा जहिले पनि हतार भई सम्बोधन गरी हिँड्ने सांसद पन्थी हिलवर्ट बोर्डिङले मंगलबार आयोजना गरेको बाल प्रतिभा प्रस्फुटन र पुरस्कार वितरण कार्यक्रममा दिनभर बसे । र आफ्नो सम्बोधनको क्रममा पन्थीले स्कूलको निकै गुणगान गाए । करिब १५ मिनेट भाषण गरेका उनले हलवर्ट काठमाण्डौँ र बुटवलका कुनै विद्यालयभन्दा कमजोर नरहेको सुनाए ।

उनले भने ‘मेरो निर्वाचन क्षेत्रका स्कूलको प्रगति देख्दा गर्व लाग्छ । यहाँ काठमाण्डौँ र बुटवलकाभन्दा स्तरीय विद्यालय पनि छन् । त्यसको एउटा नाम हिलवर्ट हो । हिलवर्ट स्कूलले देखाएका हरेक गतिविधिले यो कुरा पुष्टि गरिरहेको छ ।’

अन्य विद्यालयमा जहाँ पनि पुरस्कार वितरण राखिएको आफूले देखेको भन्दै हिलवर्टको ब्यानरमा पनि नविनता पाएको उनले बताए । ‘हिलवर्टले आज बाल प्रतिभा तथा पुरस्कार वितरण समारोह भनेर राखेको रहेछ । वास्तवमा विद्यार्थीमा अनेक प्रतिभा हुन्छन् । ती सबै प्रतिभालाई स्कुलले उजाग गरेको पाएको छु । विद्यालयका विद्यार्थीका प्रतिभा देखेर म चकित छु । यस्ता प्रतिभा अन्त मुस्किलले देख्न पाइन्छ । जुन हिलवर्टमा देखियो’, पन्थीले भने ।

पन्थीले विद्यालय र बालबालिका मात्र स्मार्ट नभएर अभिभावक पनि स्मार्ट हुनुपर्ने बताए । हिलवर्ट स्कूलको शिक्षण, यहाँका विद्यार्थी र शक्षक स्मार्ट रहेको भन्दै अभिभावक पनि स्मार्ट भएमा अझै राम्रो हुने उनले बताए ।

विद्यालयका अध्यक्ष दीपक खनालले पढ्नु र पढाउनुमा मात्र स्कुलको दायित्व नहुने भन्दै आफ्नो विद्यालयको ध्यान शैक्षिक गुणस्तर कायमसंगै वालबालिकाको प्रतिभा प्रस्फुटनसमेत रहेको बताए । कपिलवस्तुका धेरै अभिभावकको माग सिटिइभिटी शिक्षा पनि रहेकाले आगामी शैक्षिक सत्रबाट आफूहरु त्यतातर्फ लम्कने पनि उनले जानकारी गराए ।

विद्यालयका नेपाली विभाग प्रमुख तेज प्रसाद आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा सहायक प्राचार्य कुशल पाण्डेले स्वागत मत्तव्य राख्दै विद्यालयलाई थप स्मार्ट गराउनेतर्फ आफूहरु रहेको बताए । कार्यक्रममा करिब एक हजार विद्यार्थीले बिभिन्न प्रतिभा देखाएका र कक्षागत र विधागत रुपमा उत्कृष्ट हुने सयौँ विद्यार्थीलाई मेडल र टिकाले पुरस्कृत गरिएको प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताए ।

कार्यक्रममा अभिभावक र विद्यार्थी गरी करिब पन्ध्र सय जनाको सहभागिता थियो । कार्यक्रममा उपस्थित पाहुना र अभिभावक पनि हिलवर्टका प्रतिभा देखेर दङ्ग थिए ।

प्रकाशित मिति : ११ माघ २०७९ बुधबार ००:००  ८ : ३९ बजे