८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा मापदण्ड विपरितका मासु पसललाई जरिवाना



मायादेवी अनलाइन, बाणगंगा ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुको टोलीले बजार अनुगमन गरेको छ । विज्ञसहितको अनुगमन टोलीले जिल्लाका मासु पसलहरुमा अनुगमन गरेको हो ।

जिल्लाको सदरमुकाम तौलिहवा र बाणगंगा नगरपालिकाका मुख्य बजारहरुका मासु पसलमा अनुगमन गर्दा अस्वस्थ्कर मासु विक्री वितरण भईरहेको र मापदण्ड विपरित संचालन भएको पाइएको छ ।

मासु पसलहरुमा प्रयोग हुने औजारहरु खिया लागेको, सरसफाई नभएको र खुला रुपमा मासु विक्री वितरण गर्दा अस्वस्थ्यकर भेटिएको छ भने कतिपय पसलहरु मापदण्ड विपरित संचालन रहेको पाइएको छ ।

अझै पनि हाटबजारमा खुला रुपमा मासु विक्री वितरण गरेर मानव स्वास्थ्यमा गम्भिर लापरवाही गरीरहेको पसलेलाई समेत अनुगमन टोलीले एकपटकलाई सचेत गराएको डा. गणेश बहादुर पुनले जानकारी दिनुभयो । पटक पटक दोहोरिए जरिवानासंगै जफल गरिने पुनले बताउनुभयो ।

बाणगंगाका १५ वटा मासु पसलमा निरिक्षण गर्दा तौलिहवा बजारका पसलको तुलनामा सफा र मापदण्ड अनुसार विक्री वितरण भएको टोलीले अनुगमनमा भेटाएको छ । मंगलबार र बुधबार भएको अनुगमनमा मासु पसलहरु मापदण्ड अनुसार संचालन भए नभएको बारे निरिक्षण गरिएको थियो ।

तौलिहवाको बजार अनुगमनमा सडेको र फोहर मासु बेच्ने २ मासु पसललाई कारबाही समेत गरिएको छ । तौलिहवाको हाट बजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेशन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिवाना गरिएको बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनालले बताउनुभयो ।

अनुगमन टोलीमा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुका डा. गणेश बहादुर पुन, अधिकृत धनन्जय नेपाल, नेपाल पत्रकार महासंघ, असई भगतराम चौधरी, माधव प्रसाद पौडेल लगाएतका रहेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९ बिहिबार ००:००  ४ : ३१ बजे