१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भैरहवा विमानस्थल एक साता पछि संचालनमा



काठमाडौं।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रविधि संचालन नहुँदा एक महिनादेखि ठप्प अन्तर्राष्ट्रिय उडान पुनः संचालनमा आउन थप एक साता लाग्ने भएको छ।

मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा फेब्रुअरी २ तारिखबाट पुनः संचालनमा आउने विमानस्थल प्रवक्ता सुवास झाले बताए।

‘गत डिसेम्बर १८ तारिख सम्म अन्तर्राष्ट्रिय तर्फको नियमित उडान भएको थियो। त्यसपछि मौसमी प्रतिकुलताका कारण अन्तर्राष्ट्रिय तर्फको नियमित उडान नै हुन सकेको छैन,’ प्रवक्ता झाले बिजमाण्डूसँग भने,’मौसममा सुधार आएसँगै फेब्रुअरीबाट पुनः उडान सुरु गर्ने छलफल भएको छ।’

उडान बन्द हुनु अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले साताको तीनवटा उडान गर्दै आएको थियो। यो कम्पनीले हाल भैरहवाबाट टिकट काटेका यात्रुलाई बस सटल गरेर काठमाडौंबाट उडान सेवा दिँदै आएको छ।

गत नोभेम्बर ३ तारिखबाट भैरहवाबाट मलेसिया उडान गरेको हिमालय एयरलाइन्सले पनि बन्द छ।

भारत सरकारले जडान भइसकेको आइएलएस प्रविधि प्रयोगका लागि आधिकारिक स्वीकृति नदिएका कारण यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो।

प्रकाशित मिति : १२ माघ २०७९ बिहिबार ००:००  ५ : ०० बजे