८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राजनीतिको लय र रिदम बिग्रियो : बद्री पाण्डे



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले व्यावसायिक धर्म र कर्तव्यबाट च्यूत भएपछि समाज र देश निर्माण हुन नसक्ने बताएका छन् ।

कपिलवस्तु जेसिजको पदस्थापना कार्यक्रममा सरिक हुन यहाँ आएका पाण्डेले आफ्नो काम भन्दा अन्त ध्यान दिने प्रथा बढेको भन्दै यसले देश निर्माण गर्न नसकिने बताएका हुन् ।

‘हामी आफ्नो काम भन्दा अन्त बढी ध्यान दिइरहेका छौं । एउटा राजनीतिकर्मीले राजनीति भन्दा अन्त ध्यान दिने, एउटा व्यवसायीले व्यवसायिक धर्म भन्दा अन्त ध्यान दिने, एउटा पत्रकार पत्रकारिताको मर्म भन्दा अन्त जाने प्रवृत्तिले व्यावसायिक निष्ठा र धर्मबाट च्यूत भएको देखाउँछ उनले भने’, ‘यसरी समाज र मुलुक कसरी बन्छ ? हाम्रो इमान र निष्ठामा चुनौती छ । हामी यो समिक्षा गर्नै पर्छ ।’

आफ्ना काम र कर्तव्यलाई मन, वचन र कर्मले पूरा गर्न सके मात्र देश निर्माणको गति पक्रिन सकिने उनको तर्क छ । ‘अहिले हामी विश्रृङ्खलित, विचलित छौं, अझै पनि दिग्भ्रमित छौं, आफ्ना–आफ्ना कर्तव्य निर्वाह गर्ने बाटोमा लागौं । तब मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौं । यो कुराको नेतृत्व मुल राजनीतिक नेतृत्वले गर्नुपर्छ,’ उनले जोड दिए ।

हालै रवी लामिछाने प्रकरणबारे बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय सानो घटनाका पछाडी लाग्ने प्रवृत्ति बढेको पनि उनले बताए ।

‘हिजो मात्रै रवी लामिछानेको फैसला अदालतले सुनायो । अब हामी यसरी लागिपरेका छौं यही बेला लामिछानेको तजोबोध गर्ने, यही बेलामा खुइल्याउने गरी उनले भने,’ ‘यो सबै काममा, चक्रमा लागिरहनु पर्छ भन्ने मलाई लाग्दैन् ।’

लामिछानेले गल्ती गरेका थिए, लापरबाही गरेका थिए त्यो दण्डीत गर्ने काम अदालतको भएको उनले बताए । न्याय निरुपण भइसकेको विषयमा सारा मान्छे त्यसमा लाग्नुको कुनै अर्थ नहुने उनले जनाए । कसैलाई प्रशंसा गर्नुपरे अति प्रशंसा गर्ने, कसैको अपमान र घृणा गर्नुपरे अति घृणा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस नेता पाण्डेले अहिलेको राजनीतिक लय ठीक नभएको समेत बताए । कांग्रेस, माओवादी लगायतका दलहरु मिलेर चुनाव लडेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले गोरखाका कांग्रेसजनलाई के जवाफ दिनुहुन्छ भन्दै प्रश्न गरे ।

‘गोरखाका कांग्रेसजनलाई प्रचण्डले के भन्ने जवाफ दिन्छन् उनले प्रश्न गर्दै भने, म पनि बाजुराबाट समाजवादी, माओवादीका मत पाएर चुनाव जितेको हुँ, मैले ती मतदातालाई के जवाफ दिने ? बढो अफ्ठायारो महसुस भइरहेको छ । तलदेखि नै राजनीतिको लय र रिदम विग्रेको छ । असल राजनीतिक संस्कृतिको बाटोमा हिड्नुपर्ने अहिलेको कर्तव्य हो ।’

अहिले अस्वभाविक र प्राकृतिक गतिबाट विश्रृङ्खलित भएको उनले बताए । ‘अहिले स्वभाविक थियो कांग्रेस, माओवादी लगायतका दलहरु मिलेर चुनाव जितेका थिए, उनको नेतृत्वमा सरकार बन्नुपथ्र्यो । यो गठबन्धन करिब करिब बहुमतको छेउँछाउँमा थियो । त्यही गठबन्धनको सरकार बन्नु पथ्र्यो, उचित यहीँ थियो । एमाले जस्तो बलियो शक्ति दोस्रो ठूलो दल भएको कारण प्रमुख प्रतिपक्षमा बसेर राजनीतिक गति र रिदमलाई ठीक ठाउँमा लैजान भूमिका खेल्नुपथ्र्यो उनले भने’, ‘तर यसबाट हामी विश्रृङ्खलित भएका छौं ।’

सरकार बन्नुभन्दा पहिले पनि आफूले यो विषय ठाउँ ठाउँमा भनेको उनले स्मरण गरे ।

प्रकाशित मिति : १५ माघ २०७९ आइतबार ००:००  ७ : ४१ बजे