१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एमाले केन्द्रीय लेखा आयोगः लुम्बिनीमा बैठक, जगदीशपुरमा पत्रकार सम्मेलन



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनीमा तीन दिनसम्म चलेको नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक सकिएको छ । माघ १६, १७ र १८ गते केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक बुद्ध जन्मस्थल लुम्बिनीमा चलेको थियो ।

बैठकले गरेका निर्णयहरुलाई कपिलवस्तुको जगदीशपुर तालमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ ।

बैठकमा गत मंसीर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आयोगका पदाधिकारी र सदस्यहरुले निर्वाह गरेको भूमिकासहित निर्वाचनको समग्र समीक्षा गरिएको छ ।

वैठकले पार्टीलाई आर्थिक सुशासनको दृष्टिकोणले व्यवस्थित गर्ने लगाएतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालु आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनको लागि प्रशिक्षण पुस्तिका प्रकाशन गर्ने, पार्टी कमिटी, जनसंगठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसँगठनको मूल्यांकन गर्ने परिपाटी स्थापना गर्ने, सम्पूर्ण पार्टी कमिटी र जनसंगठनको लेखापरीक्षण/अनुगमन गर्ने, पार्टी विधान र नियमावलीको व्यवस्था विपरित आयोगबाट लेखापरीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने स्पष्टीकरण सोध्ने र यसरी आयोजना हुने अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्नेगरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पार्टी केन्द्रलाई अनुरोध गर्ने, बैठकले गत निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका आयोगका उपाध्यक्ष विष्णु पन्थी र सदस्यहरु मालती लिम्बु, पद्मा जिसी (श्रेष्ठ) र रामेश्वर श्रेष्ठलाई हार्दिक बधाई दिदै रामेश्वर श्रेष्ठ वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको बधाई सहित कार्य सफलताको शुभकामना दिने निर्णय गरेको आयोगका अध्यक्ष डा.पुष्प कंडेलले जगदीशपुरमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

लेखा आयोग टोलीले कपिलवस्तुका जगदीशपुर, सगरहवा ताल, कुदान लगायत विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन समेत गरेको आयोगका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले बताउनुभएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ८ : ४४ बजे