१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विजयनगरः दुधधारीलाई दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि



विजयनगर ।
दुधधारी नमुना माविले दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । विजयनगर गाउँपालिकाले सन्चालन गरेको प्रतियोगितामा कुल १४ स्वर्ण, ७ कास्य र १ रजत पदक जित्दै दुधाधारी प्रथम भएको हो ।

शंकरपुर खेल मैदानमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ कास्य र २ रजत पदक जित्दै भुवनेश्वरी मावि जगदीशपुर दोस्रो भएको छ । जनजागृति मावि लोहोरौलाले ४ स्वर्ण, ३ कास्य र ७ रजत पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

गाउँपालिका भित्रका ६ वटा विद्यालयका खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्प्रर्धा गरेको जिल्ला खेलकुद विकास समितिका सचिव मिन प्रसाद पोखरेलले बताए ।

प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डी, करांते, तेक्वाण्दो लगायतका प्रतियोगिताहरु भएका थिए ।

खेलाडीहरुलाई बधाई दिदैं गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे । खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा आफूहरु लागेको थापाले बताए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको थापाको भनाइ थियो।

प्रकाशित मिति : १९ माघ २०७९ बिहिबार ००:००  ८ : ५५ बजे