१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विद्यार्थीको खेललाई हौसला दिन मैदानमा खटिन्छन् मेयर थापा



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु शिवराज नगरस्तरीय खेलकुदको उत्सव जारी छ । नगर भित्रका १६ सय ५० विद्यार्थीले भाग लिएको खेलमा विभिन्न विधाका खेल भइरहेका छन् । खेल मैदान राष्ट्रिय माविको प्राङ्गणमा शिवराजका मेयर अजय थापा दैनिक पुग्ने गरेका छन् ।

व्यस्त समयका बावजुत पनि मेयर थापा मैदानमै भेटिदा खेलाडीहरु थप उत्साहित भएका छन् । खेल संचालन हुँदै गरेको समयमा मेयर थापा खेल मैदानमा पुगि खेलाडीहरुलाई हौसला प्रदान गरेको नगर खेलकुद विकास समितिका संयोजक सन्तोष थारुले बताए ।

नगर प्रमुख थापाले खेलाडीहरु नगरका गहना भएकाले थप हौसला दिन खेल मैदानमा खेल अवलोकन गर्न आएको बताए ।

नगरपालिकाले यहि माघ १८ गते देखि संचालन शिवराज खेलकुद महोत्सव आयोजना गरेको छ । माघ २९ गते सम्म चल्ने प्रतियोगितामा १६ सय ५० जना खेलाडीहरुको सहभागिता हुने शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले बताए ।

राष्ट्रको पहिचान स्थापित गर्नका लागि खेलको महत्वपूर्ण भूमिका हुने गरेको छ । पछिल्लो समय राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि स्थानीय सरकारले आयोजना गर्ने यस्ता खेलकुदका प्रतियोगीताले विशेष महत्व राख्ने गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  ८ : ५५ बजे