१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माओवादी केन्द्र कपिलवस्तुका पूर्व अध्यक्ष समेत रहेका विष्णु शाह विदेश पलायन !



मायादेवी अनलाइन, बाणगंगा ।
जनवादी क्रान्ति गर्ने महान उद्धेश्य बोकेर सानै उमेर देखि राजनीतिमा होमिएका नेता रामचन्द्र शाह ‘विष्णु’ विदेश पलायन भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहेका शाह रोजगारीका लागि विदेश पलायन हुन परेको हो ।

लामो समय माओवादी केन्द्र कपिलवस्तुको अध्यक्ष भएर काम गरेका शाह तत्कालिन एमाले माओवादी पार्टी एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव थिए ।

शाहले मंसिर ४ को आम चुनावको केही महिना अगाडी जिल्ला अध्यक्षको पद विष्णु बेल्वासेलाई हस्तान्तरण गरेका थिए ।

बैचारिक रुपमा प्रष्ट नेता शाह १० बर्षे जनयुद्धका पूर्णकालिन कार्यकर्ता हुन् । शाहको परिवार नै राजनीतिमा छ । उनकी श्रीमती जनि बन्जाडे माओवादी केन्द्रकी प्रदेश नेता हुन् ।

दुई सन्तानका बुवा समेत रहेका शाह विकल्पका रुपमा केही नभएपछि रोजगारीका लागि विदेश जानूपरेको उनी निकटका कार्यकर्ता बताउँछन् ।

स्वाभिमानी नेता समेत रहेका शाह जीवनभर राजनीतिमा लागे, तर पार्टीसंग कुनै लाभको पद मागेनन् । पार्टी आन्दोलनमा अविचलित रुपमा लागेका शाह आफ्नो दुई सन्तानको भविष्य खोज्दै विदेश भासिन पुगेका हुन् ।

आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको बेला शाहले सहज रुपमा बैदेशिक रोजगारको बाटो पक्रन पुग्नु एक स्वाभिमानी दृढता हो । आफू घरपरिवार चलाउन विदेश जानू परेपनि पार्टी र आन्दोलनसंग कुनै गुनासो गरेका छैनन् ।

जीवनका अनेक संघर्षलाई बुझेका शाह कम्युनिष्ट आन्दोलन र यसका अनेकन संघर्षलाई नजिकबाट बुझेका छन् ।

उद्योग व्यापार संघ कपिलवस्तु अध्यक्ष खिमानन्द पौडेल कोपिलले शाहको विदेश यात्राबारे दुखित हुँदै लेख्छन्, ‘यत्रो नेता बिदेशिनु पर्ने कस्तो बाध्यता हो हाम्रो, हामीले बिदेश जादा शुभकामना बधाई भन्नू पर्ने कस्तो विवशता हो ।’

कपिलवस्तु बाणगंगा-८ घर भएका शाह बैदेशिक रोजगारीका लागि पोर्चुगल गएका हुन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका चक्रपाणी खनाल ‘बलदेव’का साढुभाई समेत रहेका शाहको बैदेशिक यात्राको बाटोलाई लिएर तमाम कार्यकर्ता निरास भएका छन् ।

शाहले राजनीतिसंगै कृषि क्षेत्रमा समेत हात हालेका थिए । कृषि क्षेत्रमा समेत भारतको दबदबा हुँदा सोचेजस्तो सफलता हात पर्न सकेन् ।

‘लाखौं युवालाई देशकै केही गर्नुपर्छ भनेर उत्प्रेरणा दिने, कम्युनिष्ट आन्दोलनबारे रातदिन प्रशिक्षण दिन सक्ने नेता स्वंम बाध्यताले विदेशिनु पर्ने बाध्यता सोचनिय बनेको विषय बनेको छ’, विद्यार्थी नेता बासुदेव खनाल लेख्छन् ।

प्रकाशित मिति : २५ माघ २०७९ बुधबार ००:००  ७ : ४६ बजे