१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगामा ८ सय हेक्टर सिंचित हुने बाँधको उद्घाटन



कपिलवस्तु ।

८ सय हेक्टर खेतीयोग्य जमीन सिंचाई गर्ने उद्देश्यले बाणगंगा नदीमा निर्माण भएको बाँधको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

बाणगंगाका वडा नं. ५ र ६ मा सिंचाई सुविधा पुग्ने गरी वि.सं. २०७३ सालमा सम्झौता भई काम थालिएको चारमौजा सिंचाई योजनाको निर्माण पुरा भएपछि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंन्थीले उद्घाटन गरेका हुन् ।

सिंचाई समितिका अध्यक्ष शसी सापकोटाले ११ करोड बढी आयोजनामा खर्च भई नहर र बाँध निर्माण कार्य सम्पन्न हुदाँ ५ सय १२ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएको बताए ।

बाँध पूर्व-पश्चिम महेन्द्र राजमार्गको बाणगंगा पुलदेखि करिव एक किलोमिटर तल छ । सोहीस्थल मै आयोजना गरिएको कार्यक्रममा किसानले नदी जन्यपदार्थको व्यापक चोरीका कारण बाँध बने पनि मनदेखि नै खुसी हुने अवस्था नरहेको बताएका थिए ।

बाणगंगा ६ का पूर्व वडा सदस्य वेचु थारुले भने, ‘२० वर्षदेखि स्याउलाले बाँध बाँध्दै, कुलो बनाउदै सिंचाई गरी आएका थियौं । बाँध त पक्कि बन्यो- उहिले बाढीको डर थियो, अहिले खोला चोरेको डर छ ।’

खोलामा नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न सांसद र नगर प्रमुखलाई उनले माग गरेका छन् ।

कार्यक्रममा सांसद पन्थीले धेरै सरकारी आयोजनाहरु स्थानीयको संरक्षण नहुँदा अलपत्र परेको भन्दै यसको दीर्घकालिन विकास र प्रयोगका लागि चुरे क्षेत्रमा बाँध बाँध्ने र बर्षातमा पानी जम्मा गर्ने, हिउँँदसम्म सिंचाई गर्ने योजना प्रदेश सरकारको रहेको बताए । यो योजनाले अब सिंचाईका साथै खानेपानीको समस्या समेत समाधान हुने बताए ।

उनले नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागि नगर प्रमुखको ध्यानाकर्षण गराउँदै त्यस कार्यमा स्थानीय समेत चनाखो हुनुपर्नेमा सांसद पन्थीले जोड दिए ।

बाणगंगा नगर प्रमुख चक्रपाणी अर्यालले नगरबाट पूर्वाधारका काम धेरै भएपनि सिंचाई आयोजना कम भएको भन्दै यो सिंचाई आयोजनामा नगरले समेत चासो व्यक्त गरेको बताए ।

संविधान सभा सदस्य विश्राम प्रसाद थारुले बाँध निर्माणले किसानलाई राहत पुगेको भएता पनि बजेट अभावले पूर्णता नपाएको भन्दै आगामी दिनमा नहरको काम र अधुरा योजना पुरा गर्दै जानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ माघ २०७९ बुधबार ००:००  १ : ११ बजे