१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

आज महाशिवरात्रि, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै



काठमाडौं ।
आज महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड हो । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।

भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

भगवान शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवायू मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ ।

अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ६ : ०५ बजे