काठमाण्डौ – देशका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि शुरु भएको झरी गएरातिदेखि रोकिएको छ । पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातिदेखि रोकिएको हो । पूर्वमा हिजो बिहानदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो ।
पानी पर्न रोकिए पनि हिजो बाढी आएका नदी खोलाहरुमा अझै जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम छ । नारायणीको सहायक नदीहरुमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाइ छ । कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ ।
अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका हिमाल र पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।






प्रतिक्रिया