१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

महाशिवरात्रिको अवसरमा शिवगढी र तौलेश्वरनाथमा दर्शनार्थीको घुँइचो



मायादेवी अनलाइन, बाणगंगा ।
शिवरात्रि पर्वको अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुका बहुचर्चित धार्मिकस्थल कपिलवस्तुको शिवगढी, कपिलवस्तु-दाङको सीमामा पर्ने धानखोला, सदरमुकाम तौलिहवाको तौलेश्वरनाथ लगायतका शिवमन्दिहरुमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

गएराति देखि नै यी धार्मिक मन्दिरमा शिवको पूजाआराधना गर्न दर्शनार्थी पुगेका थिए ।

महाशिवरात्रि पर्वको अवसरमा नेपालको दोश्रो पशुपतिनाथ मानिने कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा शनिबार बिहानैदेखि हजारौँको संख्यामा जल चढाउने भक्तालु दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।

भगवान बुद्धको लुम्बिनीमा जन्म भएपछि राजा शुद्धोधन र महारानी मायादेवी सबभन्दा पहिला यही शिवलिङ्गको दर्शन गरेको एक पुस्तिकामा उल्लेख छ । यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्वको रुपमा मनाइने शिवरात्रिको दिन आज तौलिहवा बजारमा ठूलो मेला समेत लागेको छ ।

विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दू धर्मावलम्वीहरुको ठूलो आस्थाको केन्द्र हो । सम्भवत एशियाकै शिवमन्दिरहरुमा रहेका शिवलिंगमध्ये सबैभन्दा ठूलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको विश्वास गरिन्छ ।

जिल्लाको ऐतिहासिक, पौराणिक शिवगढी मन्दिर, ऐतिहासिक धानखोला मन्दिर र उमरी शिव गुफा मन्दिर परिसरमा हरेक वर्षझैं यस बर्ष पनि हजारौं दर्शनार्थी पुगेका छन् । महेन्द्र राजमार्ग बन्ने क्रममा २०२४ सालमा धानखोला मन्दिरको स्थापना भएको हो ।

कपिलवस्तु, दाङ्ग र अर्घाखाँची जिल्लाको संगमस्थल साथै उत्तरतर्फ बग्ने धानखोलाले यस स्थानमा अलौकिक शक्ति भएको स्थानीयको जनविश्वास रहेको छ । यस क्षेत्रमा विभिन्न गुफा तथा मन्दिरहरुले प्रचुरमात्रामा पर्यटकीय सम्भावना बोकेको देखिन्छ । शिवगढी मन्दिर तराईबाट पहाडको चुचुरोमा अवस्थित छ । झण्डै ५ घण्टा हिडेर पुग्नसकिने शिवगढी नेपालकै चर्चित शिवमन्दिर हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ७ : १३ बजे