१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गोरूसिंगे–सन्धिखर्क सडकमा सास्ती खेप्दै यात्रु



अर्घाखाँची ।
अर्घाखाँचीको मुख्य गोरूसिंगे–सन्धिखर्क सडक साँघुरा घुम्ती र फराकिलो नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।३९ वर्षअघि बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा यात्रुलाई सास्ती भएको हो । प्रत्येक वर्ष गरिएका योजनाहरू पनि प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । जनतालाई आशा मात्र देखाइँदै आएको छ ।

अर्घाखाँचीको मुख्य गोरूसिंगे–सन्धिखर्क सडक ३९ वर्ष अगाडि बनेको हो । साघुँरा घुम्ती छिचल्नु पर्ने हुँदा यात्रुहरुले सास्ती र डरको भरमा यात्रा गर्नुपर्ने बाध्यता छ । फराकिलो सडक नहुँदा दुर्घटनाको जोखिम कायम रहेको भन्दै विभिन्न समयमा स्थानीयवासीन्दाले आवज उठाउँदासमेत सम्बन्धित निकायले चासो राखेका छैनन् । पर्याप्त स्रोत र साधनको अभावमा स्थानीय औजार परिचालन गरी खनेको यो सडकको अहिलेसम्म कसैले स्तरोन्नतिमा ध्यान दिएका छैनन् ।

साँघुरा सडक र घुम्ती हुँदा यात्रुहरुले सास्ती खेप्ने मात्र हैन कैयौं पटक दुर्घटना समेत भएका छन् । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पटक पटक मन्त्री हुनुभएका टोपबहादुर रायमाझीसँग यो सडकको बारेमा बारम्बार अवतगत गराए पनि अझैसम्म सुनुवाई नभएको स्थानीयको गुनासो छ । गायक पशुपति शर्माले आफूहरु धेरै जिल्लामा कार्यक्रम गर्न गएको तर यति जोखिमपूर्ण सडकको यात्रा नगरेको बताउनुभयो ।

साँघुरा सडकका कारण बेलाबेलामा सवारी दुर्घटना पनि हुने गरेका छन् । सडक दुर्घटनापछि मात्र सडकको स्तरोन्नतिको सम्बन्धमा चर्चा हुने गरेको स्थानीय हिमाल भुसालको भनाइ छ । ६८ किलोमिटर लामो सडकको स्तरोन्नतिको काम विभिन्न चरणमा चलिरहेको र अबको करिब ३ वर्षभित्रमा साघुँरा घुम्ती र फराकिलो सडक बनाउने योजनाका साथ आफूहरु लागिपरेको प्रतिनिधि सभाका सदस्य रायमाझीको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ७ : २८ बजे