७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कपिलवस्तुको सिडिओ कार्यालय अगाडी नै अस्तव्यस्त पार्किङ



मायादेवी अनलाइन, बाणगंगा ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडी नै अस्तव्यस्त पार्किङ छ । सवारी पार्किङ गर्ने स्थानको अभाव हुँदा प्रशासन अगाडी नै अस्तव्यस्त पार्किङ देखिएको हो ।

हाल हुलाकी राजमार्ग योजनाले सदरमुकाम तौलिहवाको सडक फराकिलो बनाएको छ । बजार क्षेत्रभित्र चार लेनको सडक बनाइए पनि प्रशासन अगाडीको अव्यवस्थित पार्किङले सडक नै अस्तव्यस्त बनेको छ ।

प्रशासनको कामले आउने सर्वसाधारणले सडकमै सवारी रोकेर सेवा लिनुपर्ने बाध्यता छ । हाल प्रशासनले सडकको एक किनारामा मोटरसाइकल रोक्ने प्रबन्ध मिलाएको छ ।

जिल्ला सदरमुकामको व्यस्त बजार क्षेत्रमा अस्तव्यस्त पार्किङ हुँदा समेत अन्य विकल्प खोज्न प्रशासन लागि नपरेको तौलिहवाबासी गुनासो गर्छन् ।

प्रशासन आसपास तौलिहवाको व्यस्त बजार हो । यहाँ सर्वसाधारणको अत्याधिक चाप हुने गर्छ । नजिकै कृषि विकास बैंक, कपिलवस्तु नगरपालिका र विभिन्न बाणिज्य बैंक रहेको हुँदा यहाँ ट्राफिक जाम हुने गर्छ । यहाँ रहेका कुनै कार्यालयमा छुट्टै पार्किङको व्यवस्था छैन् । सडक किनारामै सवारी रोक्नुपर्ने बाध्यता छ ।

बुद्धस्थले भरिपूर्ण कपिलवस्तु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । भारतबाट आउने पर्यटकले ठूला ठूला सवारी लिएर आउने गरेका छन् । बुद्धस्थल प्रस्थान गर्ने मुख्य सडकमै अव्यवस्थित पार्किङ हुँदा पर्यटकलाई समेत सास्ति हुने गरेको छ ।

प्रशासनले गेट भित्र सर्वसाधारण बाहेक अरु सवारी साधन राख्न दिदैन् । विशेष पाहुना बाहेक प्रशासनले सवारी साधन भित्र प्रवेश गर्न नदिँदा पार्किङको समस्या देखिएको हो ।

जनसंख्याको अधिक चाप हुँदै आएको कपिलवस्तुमा सार्वजनिक जग्गाको अभाव देखिन थालेको छ । सरकारी कार्यालयका अधिकांश कार्यालयमा पार्किङको व्यवस्था छैन् । सडक फराकिलो बन्दै गएपनि पार्किङको व्यवस्था नहुँदा सडकको स्थिति विगत जस्तै अस्तव्यस्त हुँदै गएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९ आइतबार ००:००  ७ : ३४ बजे