१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तु कारागारका १० कैदी रिहा



कपिलवस्तु ।
७३ औं प्रतातन्त्र दिवसका अवसरमा आइतबार कपिलवस्तु कारागारका १० कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो ।

कारागारले कारागार विभागमा र विभागले मन्त्री परिषदमा लगेर राष्ट्रपति विद्या भण्डारीले कपिलवस्तुका १० सहित मुलुकभरका कारागारबाट ३ सय ८१ जनालाई रिहा गरेकी हुन् ।

उनीहरुले भु्क्तान गर्न बाँकी रहेको कैद सजाय मिनाहा पाएका हुन । विभिन्न मुद्दामा अदालतद्धारा तोकिएको ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार व्यवस्थापन विभागको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर मनोज सैनीले बताए । कारागारले ५० प्रतिशत सजाय भुक्तान गरेका १२ सिफारिस गरेर पठाइएकोमा १० जना रिहा भएको जेलर सैनीले बताए ।

रिहाईका लागि कैदीको चालचलन कैद भुक्तान अवधिलाई आधार बनाइएको थियो । रिहा भएकाहरु मध्ये ५ जना कपिलवस्तुका रुपन्देहीका ३ जना र चितवन र कैलालीका एक एक जना रहेको जेलर सैनीले बताए । कर्तव्य ज्यान मुद्धाका ४, सवारी ज्यान एक र हातहतियार तथा खरखजाना मुद्धाका एक जना रिहा भएका हुन् ।

रिहा भएका कैदी बन्दीलाई कारागार भित्र रहेका अन्य कैदी बन्दीहरुले बिदाई गरेका थिए । रिहाई हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो । कैदीको अवधि बाँकी छदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे ।

पुराना तीता अनूभवहरु सबै बिर्सेर नयाँ जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुले बताए ।

‘रिहा हुने हामी सबैले पुराना कुराहरुलाई बिर्सेर नयाँ सुरुवात गर्नु पर्छ उनीहरुले भने ।’

आफूहरुले देश समाज र परिवारका लागि सहि ढंगले काम गर्नु पर्ने उनीहरुको भनाई थियो ।

जेलर सैनीले समेत रिहा हुने कैदीहरुलाई टिका लगाएर बिदा गरेका थिए । उनले आउने दिनहरुमा असल नागरिक भई काम गर्न आग्रह गरेका थिए । अनुशासित कैदी रिहा भएकोमा आफुलाई पनि सन्तुष्टी मिलेको जेलर सैनीले बताए ।

कारागारको २ ब्लकमा अहिले ४ सय ६८ जना कैदी बन्दी छन् । राष्ट्रपति भण्डारीले विभिन्न अदालतबाट भएका कैद सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस २०७९ का उपलक्ष्यमा आम माफी गरिदिएकी हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९ आइतबार ००:००  ६ : ४६ बजे