१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गौतमबुद्ध विमानस्थलः २५ फागुनदेखि जजिराले पुनः उडान गर्ने



बुटवल ।
मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने भएको छ । यो विमानस्थल २ जेठमा व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । जजिराले ६ पुस (२१ डिसेम्बर) देखि उडान रोकेको थियो । जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार जजिराले ९ मार्चदेखि हप्ताको तीन दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको उनले बताए । प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको छ ।

यसअघि जजिराले २ फेब्रुअरीदेखि उडान सुरु गर्ने आश्वासन दिएको थियो । तर उडान सुरु भएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ । प्रवक्ता झाका अनुसार विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ । अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानको आम्दानीले खर्च व्यवस्थापन गरिएको उनले बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी मुलुक भारतको सीमा नजिकै भएकाले कुनै बेला जहाजले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ । तर भारतीय आकाश प्रयोग गर्न भारत सरकारसँग सम्झौता हुनुपर्छ । उक्त सम्झौता नहुँदा विमानस्थलको प्रयोगमा एयरलायइन्सहरु आकर्षित हुन सकेका छैनन् ।

अर्कोतर्फ भैरहवा उडानका लागि नेपालको पश्चिम भेगबाट आउने जहाजले नेपाल छिर्न पूर्वी नेपालको सिमरा बिन्दुमा पुगेर पुनः भैरहवा फर्कनुपर्छ । यसले समेत यो विमानस्थलको उडान तुलनात्मक रुपमा महँगो पर्न जान्छ । भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध विमानस्थललाई सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिएको छैन ।

भैरहवा तथा यस आसपासको भिजिबिलिटी २०० मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे आन्तरिक उडान हुने र नलागे उडान नै नहुने अवस्था छ । विमानस्थलमा जडित आईएलएस (उपकरणको मद्दतबाट विमान ल्यान्डिङ गर्ने प्रणाली) सञ्चालनमा आउन नसक्दा भैरहवाका लागि हुने गरेका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका थिए ।

‘हवाई रुट प्रयोग गर्ने अनुमतिका लागि सरकारको उच्चस्तरीय तहबाट सम्वाद गरेर निकास निकाल्नुपर्नेछ’ झा भन्छन् । लुम्बिनीमा पर्यटक आउने सिजनमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकिंदा पर्यटन व्यवसायीहरु चिन्तित छन् ।

लुम्बिनीमा अक्टोबरदेखि मार्चसम्म पर्यटकहरू बढी आउने गरेका छन् । ‘सिजनको बेला अन्तर्राष्ट्रिय उडान नभएपछि पर्यटनमा ठूलो असर परेको छ’ लुम्बिनीका होटल व्यवसायी अक्रम खानले भने ।

व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९ सोमबार ००:००  ६ : ३६ बजे