११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

सदरमुकाममै पानीको हाहाकार



रुकुम पूर्व ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमै स्थानीयले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका छन् । करिब ९ सयभन्दा बढी घरधुरी रहेको सिस्ने गाउँपालिका–५ र ६ वडा समेटिएको सदरमुकामले खानेपानी समस्या भोग्दै आएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुकुम पूर्वका अनुसार वडा नं. ५ मा हाल थाक्ना खोलास्थित राछु छहरा र ठाडो खोला मुहानबाट पानीको आपूर्ति भइरहेको छ । वडा नं. ६ मा छिप्रिदह र आला क्षेत्रका लुस्पाधाराबाट लिफ्ट गरेर तथा पाखागाउँ र ढकलबारा क्षेत्रका अन्तराखोला खानेपानी आयोजनाअन्तर्गतको पानी वितरण गरिएको छ ।

तर, अहिले वितरित खानेपानीले आफूहरूको आवश्यकता पूरा गर्न नसकेको सिस्ने–५ का हर्कबहादुर शाहीले बताए । बर्खामा सडकबाट भल बगेर थाक्नाखोलामा आउने गरेकाले पानी धमिलो हुने गरेको उनले सुनाए । ‘बर्खाभरि खानेपानीको हाहाकार हुन्छ,’ उनले भने ।

वडा नं. ५ को क्षेत्रमा त झन् खानेपानीको अभाव सधैं हुने गरेको स्थानीय विष्णु देवकोटा बताउँछिन् । बिजुली नहुँदा लिफ्ट नचल्ने र पानी नै नआउने गरेको उनको भनाइ छ । ‘पहिला सुरुमा जोड्दा नै प्रतिघर १० हजारजति खर्च आयो ।

अनि, महिनामा न्यूनतम शुल्क २ सय रुपैयाँ तिर्नुपरेको छ,’ उनले भनिन्, ‘बिजुली नआए पानी आउँदैन अनि गाग्री बोकेर मुहानसम्म जानुपर्छ ।’ लिफ्ट खानेपानी निर्माणमा गाउँपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सहयोग गरेका छन् । तर जग्गा खरिद गर्न पैसा उठाउनु परेकाले सुरुमा प्रतिघर ५ हजार र जडान शुल्क छुट्टै लिने गरिएकाले महँगो पर्न गएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुशील गौतमले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९ सोमबार ००:००  ६ : ५४ बजे