११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

नदीजन्य पदार्थ खुलेसंगै टिप्पर र ट्याक्टरबाट बच्नै गाह्रो, असुरक्षित बन्दै सडक यातायात



मायादेवी अनलाइन, बाणगंगा ।
नदीजन्य पदार्थ खुलेसंगै सडक यातायात असुरक्षित बन्न थालेको छ । कपिलवस्तुका प्रायजसो सबै स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाएका छन् । नदीजन्य पदार्थ खुलेसंगै दैनिक सयौं ट्याक्टर, टिप्पर सडकमा हिड्छन् ।

साँघुरो सडकले दुर्घटनाको जोखिम रहदै आएको अवस्थामा ट्याक्टर, टिप्परको अस्वभाविक प्रतिस्पर्धाले दुर्घटनाको जोखिम बढेको हो ।

छिटो गन्तव्यमा पुग्ने र धेरै काम गर्ने उद्धेश्य राखेर सडकमा हुँइकिने ट्याक्टर, टिप्परले कति बेला कस्को ज्यान लिन्छन् अनुमान गर्न नसकिने बाणगंगा- ७ का प्रकाश विष्टले बताए । आजभोलि सडकमा हिड्नै नसकिने स्थिति आएको उनले बताए ।

बिशेष गरी विहान र साँझपख पूर्व-पश्चिम महेन्द्र राजमार्ग बढी व्यस्त हुन्छ । विद्यार्थीहरु विद्यालय पुग्ने यो बेला दर्जन बढी स्कूले बस सडकमा गुड्छन् । सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारी पनि गन्तव्यमा पुग्ने हुँदा यो समय झनै सडक व्यस्त हुन्छ । यस्तो बेला नदीजन्य पदार्थ बोक्ने सवारीको अनियन्त्रित हिडाईले दुर्घटनाको जोखिम बढेको हो ।

नदीजन्य पदार्थ खुलेसंगै सयौंले रोजगारी पाएका छन् । जति धेरै नदीजन्य पदार्थ बोक्यो, त्यति धेरै भत्ता पाउने भएपछि चालकले ज्यान कै प्रवाह नगरि सवारी हाँकिरहेका छन् ।

भित्रि सडकमा हिड्ने अधिकांश ट्याक्टरका चालक सिकारु रहेको स्थानीय बताउँछन् । सिकारु चालकले ट्याक्टर चलाए पनि सम्बन्धित निकायले खासै वास्ता नगरेको स्थानीयको गुनासो छ ।

क्षमता भन्दा बढी मालसमान बोक्दा ट्याक्टरका अगाडीका टायर र खाली ट्याक्टरका पछाडीका टायरले भुँई नै छुदैनन् । तिव्र गतिमा ट्याक्टर हुँइकाउँदा भनेको ठाउँमा ब्रेक लाग्ने सम्भावना कम हुने अनूभवी चालक बताउँछन् ।

विगतका बर्षमा नदीजन्य पदार्थ बोक्ने केही सवारीले सर्वसाधारणको ज्यानै लिएका घटना छन् । कतिपय अंगभंग समेत भएका छन् । बाणगंगा-६ की सुनिता नेपालीले असुरक्षित सडक यात्रा भएको बताइन् । सम्बन्धित पक्षले सवारीको गति हेर्ने काम गनुपर्नेमा उनले जोड दिइन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले केही महिना टिप्पर, ट्रक लगायतका सवारीलाई टाइम कार्ड लागू गरेपनि हाल गरेको छैन् ।

जिल्ला ट्राफिक प्रहरीका प्रमुख, प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले टाइम कार्ड लगाउने बारे छलफल भइरहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  ६ : ५३ बजे