४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

सिंगापुरमाथि नेपालको फराकिलो जित



काठमाडौँ ।
नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको छ । नेपालले यूएईको अजमानमा टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो ।

जवाफमा आएको सिंगापुरले इडेन गार्डेन ओभल मैदानमा ७ विकेट गुमाई १ सय ६५ रनमात्र बनाउन सक्यो । नेपाली बलिङसामु निकै दबिएर खेलेको सिंगापुरबाट आर्यन मोदीले सर्वाधिक ५८ रन बनाए । त्यसका लागि उनले १ सय बल खेली २ चौका प्रहार गरे । त्यस्तै सिद्धान्त श्रीकान्तले ८० बल खेली १ चौका र १ छक्कासहित ४४ रन बनाए ।

नेपालबाट हेमन्त धामी र सुवास भण्डारीले २–२ विकेट लिए । हेमन्तले ८ ओभरमा २७ र सुवासले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चे । विशालविक्रम केसीले १ विकेट लिए ।

यसअघि आकाश त्रिपाठी र विशालविक्रम केसी अर्धशतक बनाएपछि नेपालले मजबुत स्कोर बनाएको थियो । आकाशले १ सय बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी ७८ रन बनाए । उनी ३४ औं ओभरमा आउट भएका थिए, जतिखेर नेपालको स्कोर १ सय ४५ रन थियो । दीपक बोहरा ‘ए’ ५ रनमा आउट भएपछि आकाशले अर्जुन कुमालसँग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरे । अर्जुनले ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए ।

कप्तान देव खनालले २१ रन बनाए । उनले २६ बल खेली १ चौका प्रहार गरे । दीपक बोहरा ‘बी’ १५ बल खेली दुई चौका प्रहार गर्दै १७ रनमा आउट भए । दीपक डुम्रे १० ररनमा आउट भए भने मिलन बोहराले ४ रनमात्र बनाउन सके ।

मध्यक्रमलाई सम्हालेर खेलेका विशालले अविजित ६३ रन बनाए । उनले ६४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । सुवास भण्डारी १ चौका प्रहार गरी ८ बलमा १२ रन बनाई अविजित रहे । सिंगापुरका अर्याविर चौधरी र अभुदय छाजरले २–२ विकेट लिए ।

नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्ने छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  ७ : ०० बजे