१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुमा अमेरिका लैजाने बाहनामा ठगिए ओमनाथ, उल्टै मुद्धा हालेर पीडामाथि थप पीडा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका एक युवा अमेरिका पुग्ने आशामा ठगिएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ का ३६ बर्षीय ओमनाथ थारु अमेरिका पुग्ने आशामा दलालबाट ठगिएका हुन् ।

आजभन्दा अढाई बर्ष अगाडी ओमनाथसंग एक जना अपरिचित व्यक्ति फेसबुकमा जोडिन्छन् । दिब्या रानाको नामबाट उनलाई फेसबुकमा रेक्वेष्ट (साथी बनाउन) आउँछ । ओमनाथले साथी बनाउँछन् । दुवै जना बीच कुराकानी हुन थाल्छ ।

रानाले अमेरिकामा जागीर खुलेको र त्यसमा थारु समुदायका व्यक्ति जान पाउने भन्दै आशा देखाउँछिन् । ओमनाथ भन्छन्, ‘अमेरिकाका लागि थारु समुदायका व्यक्तिलाई मात्र खोजेको छ । एग्रीकल्चरमा काम गर्ने हो भनेर मलाई आश्वासन दिइयो ।’

सुरुवाती चरणमा दिव्याको कुरा ओमनाथले विश्वास गर्दैनन् । तर, लगातार म्यासेज गर्दै जादा उनी पत्याउन पुग्छन् ।

अमेरिका भिसा लाग्ने थुप्रै प्रमाण भएका कागजात देखाउँन थाले पछि ओमनाथले रानाको कुरा विश्वास गर्न थाल्छन् ।

कामका लागि साउदी अरेविया रहेका ओमनाथको कमाई राम्रै थियो । मासिक ६५/७० हजार कमाउँदै आएका उनी एकाएक मोडिएर अमेरिका पुग्ने सपना देख्छन् । विदेशबाटै उनले अमेरिका जानका लागि भीम रानाको नाममा रु. ५१ हजार पाँच सय पैसा पठाउँछन् ।

यस बीचमा ओमनाथसंग रानाले थप रु. ५ लाख माग्छिन् । उक्त पैसा हातैबाट लिने अरु माध्यमबाट नलिने उनी बताउँछिन् । ओमनाथले श्रीमती रनियाँ थारुलाई रु. ५ लाख दिन भन्छन् । उक्त पैसा श्रीमतीले हात मार्फत दिएको उनी बताउँछन् ।

अमेरिका उठ्ने ठानेर छदाँखाँदाको जागीर छाडेर उनी नेपाल फर्कन्छन् । यो बीचमा फेसबुकमा दिव्या राना, भीम राना जोडिएका हुन्छन् । यही क्रममा विनोद भूसाल पनि जोडिन पुग्छन् ।

पैसा पाईसके पछि तोकिएको समयमा ओमनाथ अमेरिका उठ्न सक्दैनन् । उनलाई अमेरिका जानेमा शंका लाग्छ । आफू दलालबाट फसेको मशसुस गर्न थाल्छन् । उनले आफूले दिएको पैसा तुरुन्त दिन आग्रह गर्न थाल्छन् । आफ्नो पैसा नदिए प्रहरी सामु उजुरी दिने भन्न थालेपछि ओमनाथको खातामा विभिन्न व्यक्तिको नामबाट रु. ५ लाख आईपुग्छ । अमेरिका जाने आशामा जागीर छाडेर नेपाल फर्किए पनि आफूले फसाएको रु. ५ लाख फिर्ता भएकोमा उनी सन्तोष मान्छन् । झण्डै दलालबाट फसिनसकेको भन्दै थप होसियारी अपनाउँछन् ।

यो बीचमा कोरोना भाइरसको महामारीले विश्व आक्रान्त हुन्छ । उनी बेरोजगार हुन्छन् । विभिन्न प्रयासका बीच गएको भदौ महिनामा उनी रोजगारीको लागि पुनः दुबई जान्छन् ।

अब यसरी घट्छ घटना

उनी दुवई पुगेको ती दलालहरुलाई थाहा हुन्छ । फेरि उनीहरुले ओमनाथकी श्रीमती रनियाँलाई मानसिक तनाव दिन थाल्छन् । आफूहरुले खातामा हालिदिएको रु. ५ लाख फिर्ता दिन उनीहरुले माग गर्छन् । आफ्नो पैसा फिर्ता नदिए प्रहरीमा उजुरी दिने र बेइज्जत गरिदिने उनीहरुले धम्की दिन्छन् । विदेश रहेका श्रीमान ओमनाथसम्म यो कुरा पुग्छ ।

‘श्रीमतीलाई रातदिन मानसिक तनाव दिन थालियो । श्रीमती बाँच्न नसक्ने गरी मानसिक यातनामा परिन्, कयौं पटक आत्महत्या गर्ने बताउँन थालिन्’, उनले भने ।

उनका अनुसार आफूले दिएको रु. ५ लाखको कुनै प्रमाण नभएको दलालहरुले बताउँन थाले ।

उनी भन्छन्, ‘मैले हातै मार्फत पैसा दिएको हुँ, उनीहरुले मेरो पैसा खाता मार्फत फिर्ता पनि गरे, अहिले आएर पुनः रु. ५ लाख पाउँनुपर्छ भन्दै तनाव दिन थालेका छन् ।’

दलालले श्रीमतीलाई यातना दिन थालेपछि ओमनाथ तीन दिन अगाडी स्वदेश फर्कन्छन् । यो बीचमा ती व्यक्तिले जिल्ला अदालत कास्कीमा ओमकार विरुद्ध ठगी, आपराधिक, विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरको मुद्धा हालेका हुन्छन् । अदालतबाट ओमनाथ विरुद्ध २०७८ साल भदौ १३ गते पक्राउ पुर्जी जारी हुन्छ । उक्त पक्राउ पुर्जी ओमनाथसम्म आइपुग्दैन् । यही पुर्जी दलालहरुले ल्याएर ओमनाथकी श्रीमती विरुद्ध ‘ब्ल्याकमेलिङ’ गर्छन् ।

‘तिमीहरु विरुद्ध अदालतमा मुद्धा हालेका छौं । तिमीहरु अब जेल जान्छौं । हाम्रो रु. ५ लाख रुपैयाँ तुरुन्त देउँ भन्दै तनाव दिन थाले,’ उनकी श्रीमती रनियाले विलौना गरिन् ।

यही पक्राउ पुर्जी देखाएरै पैसा खाने प्रपञ्चमा उनीहरु रहेको देखिन्छ । एक बर्षसम्म अदालतको पत्र ओमनाथ समक्ष आधिकारिक निकायले ल्याउँदैन् ।

कपिलवस्तु घर भएका व्यक्तिलाई कास्कीमा पक्राउ पूर्जी जारी भएपछि थाहा हुने कुरै भएन् । उक्त पत्र गएको माघ २७ गते ओमनाथको घरसम्म आउँछ । उक्त पत्र आए पछि ओमनाथको परिवार छाँगाबाट खसेजस्तै हुन्छ ।

यो बीचमा बाणगंगाकै हरिशंकर थारु समेत संलग्न रहेको पाइन्छ । यिनै थारु दलाल बनेर काम गरिरहेको ओमनाथको ठहर छ । उनले नै ओमनाथलाई फसाउन खोजेका हुन् । इलाका प्रहरी कार्यालय पिपरामा ओमनाथ विरुद्ध हरिशंकरले उजुरी हालेका छन् । उजुरी उपर शनिबार प्रहरी कार्यालयमा छलफल हुने भनिए पनि हरिशंकर त्यहाँ आएनन् ।

पीडित परिवारले शनिबार घटनाबारे मायादेवी अनलाइनसंग सविस्तार सुनाएको हो । पीडा माथि पीडा खेपेका ओमनाथका परिवार र गाउँलेले अमेरिका पठाउँछु भनेर पठाएका डकुमेन्ट, दिव्यासंग गरिएका फेसबुक कुराकानी, विदेशबाट पठाएको पैसाको प्रमाण देखाएका छन् ।

विभिन्न व्यक्तिले खातामा हालेको रु. ५ लाख कुम्ल्याउनका लागि यस्तो नाटक रचेको हुन सक्ने आशंका छ । आफूले हातबाट पैसा बुज्ने र खातामा पैसा हालेर प्रमाण बलियो बनाउने खतरनाक योजनामा दलाल लागेको पाइएको छ । प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गर्नुपर्नेमा उनीहरुको माग छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९ आइतबार ००:००  ८ : ३२ बजे