८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उपाधितर्फ लम्कँदै ‘लिग लिडर’ पीएसजी



एजेन्सी ।
‘लिग लिडर’ पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग फुटबलको आफ्नो पछिल्लो खेलमा पनि सफलता हात पारेको छ । जितसँगै पीएसजीले आफ्नो उपाधि यात्रालाई बलियो बनाउँदै लगेको छ ।

आइतबार राति खेलिएको खेलमा पीएसजीले ट्रोयसमाथि ३-१ गोलको सजिलो जित हात पा¥यो । उक्त खेलमा पीएसजीको टोलीमा अर्जेन्टिनी स्टार लियोनल मेसी भने उपस्थित थिएनन् । उनी निलम्बनमा परेका छन् ।

मेसी निलम्बनमा परेयता फ्रेन्च लिगमा पीएसजीले खेलेको यो पहिलो खेल पनि हो । खेलको प्रारम्भदेखि नै पीएसजीले ट्रोयसलाई दबाबमा राखेको थियो । खेलको पहिलो हाफमा १ गोल गरेको पीएसजीले दोस्रो हाफमा २ गोल थपेको थियो ।

खेलको आठौं मिनेटमा केलियन एमबाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । सोही गोलका कारण पीएसजी खेलको पहिलो हाफमा १-० ले अगाडि रह्यो । त्यसपछि खेलको ५९औं मिनेटमा भिटिन्हाले पीएसजीको अग्रता दोब्बर बनाएका थिए ।

निर्धारित समयको ८३औं मिनेटमा घरेलु टोली ट्रोयसले १ गोल फर्काएको थियो । घरेलु टोलीका लागि उक्त गोल जाभियर चवालेरिनले गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा ४ मिनेटअघि फाबियन रुइजले पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।

पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ । पीएसजीलाई कीर्तिमानी रुपमा ११औं पटक फ्रेन्च लिगको उपाधि उचाल्ने अभियानमा छ । पीएसजीले तालिकाको दोस्रो स्थानमा आसिन लेन्ससँग ६ अंकको अग्रता लिएको छ । लेन्सले ३४ खेलबाट ७२ अंक बटुलेको छ । ट्रोयस भने ३४ खेलबाट २२ अंक जोड्दै तालिकाको १९औं स्थानमा छ । ट्रोयस पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै रेलिगेसनमा पर्नबाट जोगिने धुनमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ८ : ३८ बजे