१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतबाट दूध ल्याउन चलखेल गर्नेहरु राँगोलाई उचाल्दै



काठमाडौं ।
नेपाल र भारत सरकारको सहकार्यअनुसार विश्वमै उन्नत जातका मानिने मुर्रा राँगा नेपाललाई उपलब्ध गराइने भारतीय दूतावासले गत शनिबार विज्ञप्तिमार्फत् जनायो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समाप्ती र मुर्रा राँगाको प्रवेशले नेपालमा तरङ्ग नै ल्याइदियो । निःशुल्क उपहारका रूपमा ल्याउने भनिएका मुर्रा जातका १५ वटा राँगाका विषयमा सामाजिक सञ्जालदेखि संसद्सम्म चर्चा छ ।

कहाँसम्म भने पारित गर्न लागिएको आर्थिक बर्ष २०८०/८१ को बजेट छलफल र चर्चित नक्कली भुटानी शणरार्थी प्रकरणमा के भइरहेको छ भन्ने विषय नै मुर्रा राँगाका कारण ओझेलमा परेको छ ।

त्यति मात्र भएन सदनमा राँगाले हंगामा मच्याइदियो । सत्ता र प्रतिपक्ष राँगाकै कारण दुई ध्रुवमा बाँडिए । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले त प्रधानमन्त्रीको चार दिने भारत भ्रमणको उपलब्धि त्यहिँ १५ वटा राँगा नै भएको बताए । रास्वपाका सांसद शिशिर खनाले त प्रचण्ड राँगा नै चढेर नेपाल आएकोसम्म भन्न भ्याए ।

सामाजिक संजालमा पनि यस विषयले प्राथमिकता पायो । कतिले बिभिन्न ट्रोल बनाएर प्रधानमन्त्रीको खिसिट्यूरी गर्दै अहिले पनि उडाइरहेका छन् । एउटा पक्षले यस विषयलाइ ब्यङ्ग्य गर्दै राजनीति गर्ने प्रमुख अष्त्र बनाएको देखिन्छ भने बुद्धिजिवी र यस विषयका जानकारले राँगा अनुदान कृषि प्रधान मुलुकको लागि निकै फाइदाजनक भएको बताएका छन् ।

यता कृषि तथा पशुपंक्षी मन्त्रालयले भने यी कस्ता राँगा हुन् ? यिनको प्रजनन क्षमता कस्तो छ ? यसबाट मुलुकले के पाउँदैछ भन्ने तथ्य नबुझि अनावश्यक भ्रम छरेर केहिँ समूहले राजनीति गर्न खोजेको आरोप लगाएको छ ।

मन्त्रालयमा डा. बेदुराम भुसालको इन्ट्रिसंगै के भयो ?

कृषि तथा पशुपंक्षी मन्त्रालयमा डा. बेदुराम भुसालको इन्ट्रिसंगै एक समूह बदनाम गराउने काममा उद्धत छ । त्यसको लागि बिचौलियाको एक समूहले कृषि मन्त्री भुसाललाई भारतबाट दूध आयातको बाटो खोल्न कसरत गरिरहेको छ । कहाँसम्म भने दुग्ध विकास संस्थानलाई प्रलोभनमा पारेर मन्त्रीसमक्ष दूध आयात खोल्नुपर्ने सिफारिस पत्र नै ती विचौलियाले पठाइसकेका छन् । यिनै विचौलियाको प्रभावको कारण मन्त्रीले गर्दै नगरेको कामलाई केहिँ मिडियालेसमेत ‘मन्त्रीले दूध आयात खोले’ भनेर लेखेका थिए ।

मन्त्री भुसालले विचौलियाको उक्त प्रयास विफल पारिदिँदा दूध आयातमार्फत् करोडौँ आउने श्रोत बन्द भएपछि विचौलियाको निद्रा हराम भएको छ । तिनै विचौलिया र केहिँ राजनैतिक शक्तिले अब यी राँगा नेपाल ल्याउन नहुने गरी भूमिका खेलिरहेको मन्त्रालयको आरोप छ ।

मन्त्रालय श्रोत, ‘यसै कारण एक पक्षले सदनमा यसलाई चर्को रुपमा उठाइरहेका छन् । उनीहरुलाई यो पटक्कै मन परेको छैन । राँगाको विरोध गर्ने सांसदको सम्बन्ध तिनै विचौलियासंग हुन सक्छ त्यसैले यतिधेरै विरोधत्र भइरहेको छ । अब डेढ महिनाभित्र राँगा आउँछन् र यसले किसानलाई दिने फाइदापछि आफै चुप हुनेछन् । कसैलाई भ्रममा नपर्न आग्रह गर्दछौँ ।’

कृषि मन्त्री डा. बेदुराम भुसाललाई पनि दूध आयात खोल्नको लागि विचौलियायाबाट करोडौँ रकमको अफर आएको श्रोत बताउँछ । दूधमा आत्मनिर्भर देश घोषणा भइसकेका बेला भारतीय दूध आयात गर्नु राम्रो नहुने भन्दै मन्त्री भुसाल अन्तिमसम्म आफ्ना अडानमा छन् ।

यस्ता विषयको अनुचित दबाब आफूलाई सह्य नहुने मन्त्री भुसालको भनाई छ । उनी भन्छन्, ‘आजसम्म मेरो व्यक्तिगत जीवनमा कुनै दाग छैन । मन्त्री भएर त्यो कमाउनु छैन । मन्त्रालयमा रहँदासम्म कति राम्रो गर्छु थाहा छैन तर नराम्रो गर्दिनँ र हुन दिन्नँ । सकेसम्म किसान दाजुभाई दिदीबहिनीलाई फाइदा हुने काम गर्ने हो ।’

सामाजिक सन्जालमा नबुझि प्रतिक्रिया जनाउने र दूधमा आत्मनिर्भरको बाटोमा लैजाने नखोज्ने बिचौलियालाई भारतले राँगो दिएको विषयलाई अनावश्यक प्रपोकाण्ड मच्चाउनेको भ्रममा नपर्न मन्त्रालयले सबैलाई अनुरोध पनि गरेको छ । डिडिसीमार्फत् मन मिल्ने नेता र मन्त्रीको क्वाटर क्वाटरमै दूध, दही, मही र घ्यू नै पुग्ने गर्दछ । ती दूग्ध पदार्थ लिन डिडिसीले कर गरे पनि मन्त्रीले क्वाटरमा मगाएका छैनन् मन्त्रालय श्रोत ‘मन्त्री ज्यूले आफै प्रबन्ध मिलाउनु भएको छ ।’

दूध राजनीतिमा कोको संलग्न छन् ?

नेकपा (एमाले) सरकारको पालामा नियुक्त भएका नेपाल दुग्ध विकास बोर्डका कार्यकारी प्रमुख राजेन्द्र यादवले दूग्ध व्यवसायीलाई प्रभावमा पारेर भारतबाट दूध आयातको लविङमा निरन्तर लागेका थिए । नेपालमा दूध अपुग गराएर भारतबाट दूध आयात गर्नुपर्छ भन्नेमा कतिपय दूग्ध व्यवसायी छन् । तीनै ब्यवसायीको कुरा सुनेर कार्यकारी प्रमुख राजेन्द्र यादव मन्त्रीलाई पनि प्रभावमा पार्न उद्धत छन्, श्रोत भन्छ ।

यस्तै नेपाल दूग्ध बिकास संस्थानका कार्यकारी प्रमुख सन्जिब झा नेपाली किसानको दूधको पैसा तिर्न छाडेर दूध आयातको लागि विभिन्न शक्ति केन्द्र धाउने गरेको खुलेको छ । लाखौं किसानको रकम नतिरेर भारतबाट दूध ल्याउने गरी शक्ति केन्द्र धाएका झा मन्त्रालयबाट रोकिएपछि अन्नतः निरास रहेका मन्त्रालयको आरोप छ ।

‘भारतीय दूध आयात गर्नुपर्नेमा अधिकांश एमाले निकटका दूग्ध व्यवसायी रहेका छन् । मुर्रा राँगा नेपाल भित्रिए दूधमा मुलुक आत्मनिर्भर हुन्छ र आफ्नो धन्दा सकिन्छ भन्ने ती विचौलियामा ठुलो चिन्ता छ । एकिकृत समाजवादीका उपाध्यक्ष भुसाल कृषिमन्त्री भएपछि उनलाई बदनाम गराउन एमालेका केही नेता सडकदेखि सदनसम्म लागेका छन्’, मन्त्रालयको भनाई छ ।

जानकारहरु के भन्छन् ?

यता जानकारहरु भने मुर्रा राँगामार्फत् नश्ल सुधार भएमा नेपालमा अहिलेको अनुपातमा ३ गुँणा दूध उत्पादनको मात्रा बढ्न सक्ने बताइरहेका छन् ।

ती उन्नत जातका राँगाले नेपालको पशुपालनमा निकै फड्को मार्न सक्ने उनीहरु बताउँछन् । कृषि मन्त्रालयका अनुसार यी राँगाबाट एक लाख बढी भैसीको नश्ल सुधार हुने र यसबाट दूधमा झनै नेपाल आत्मनिर्भर हुने पक्का छ ।

पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले लामो समयको प्रयासबाट भारतले मुर्रा राँगो उपलब्ध गराउने भएकोले यसलाई अतिरञ्जित गर्न नहुने बताउँछन् । उनका अनुसार मुर्रा राँगा आयातले दुग्ध क्षेत्रमा फड्को मार्ने विश्वास छ ।

मन्त्रालयका कर्मचारी पनि भ्रममा नपर्न सुझाउँछन् । उनीहरुको भनाई छ कि मन्त्री भुसालको चट्टानी अडानले भारतबाट दूध आयात रोकिन पुग्यो । भारतले नेपाललाई दिन थालेको १५ ओटा राँगाले नेपालको पशुपालनमा थुप्रै सकारात्मक सन्देश देखिने पक्का छ ।

आखिर यी कस्ता राँगा हुन् ?

‘यो उन्नत प्रजाति मुख्यतः भारतको पञ्जाब र हरियाणामा विकास भएको हो । नश्ल सुधारका लागि यो विश्वकै उन्नत जातमा पर्छ । यसको बजार मूल्य भारतीय रुपैयाँ ३ करोडसम्म छ भने भारतले बाहिर बेच्दा अझै महंगो छ । नेपालमा यसको मूल्य ७ करोडसम्म पर्दछ । भारत सरकारले अहिलेसम्म शतप्रतिशत अनुदानमा कुनै देशलाई दिएको छैन ।

कृषि तथा पशुपन्छी मन्त्रालयले वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगोबाट ३ वर्षपछि वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने जनाएको छ । यसरी उत्पादन भएको वीर्यबाट एक लाख भैंसीमा कृत्रिम गर्भाधान गराएर नश्ल सुधारमार्फत दूध उत्पादन बढाइने सरकारको लक्ष्य छ ।

यसरी हेर्दा अहिलेको अनुपातमा नेपालमा ३ गुँणा बढी दूध उत्पादन हुने छ । मुर्रा राँगोबाट कृत्रिम गर्भाधान गरेको भैंसीको उत्पादन क्षमता ४ हजार लिटरभन्दा बढी मन्त्रालयका सूचना अधिकारी चन्द्र ढकालले जनाए । ढकाल भन्छन् ‘मुर्रा पाडीले एक बेतमा ४ हजार लिटरभन्दा बढी दूध दिने क्षमता राख्छ ।’ एउटा मुर्रा राँगोबाट १० वर्षसम्म वीर्य संकलन गर्न सकिने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८० बुधबार ००:००  ६ : ४० बजे